हेटौंडा : मकवानपुरको एउटा यस्तो गाउँ जहाँ पाँचभन्दा कम सन्तान भएको आमालाई भेटाउनै मुस्किल पर्छ।
बद्लिँदो समाजमा दुई सन्तान : ईश्वरको वरदान भनिने गरे पनि मकवानपुरको मनहरि गाउँपलिका–४ नयाँ बस्तीका चेपाङ महिलाहरू अझै पनि पाँचभन्दा बढी सन्तानलाई जन्म दिन बाध्य छन्।
कोही छोराको पर्खाईमा त कोही छोरीको पर्खाईमा र कोही काम गर्नका लागि धेरै जहान जुटाउन आफ्नो शरीरले सके नसके पनि तीनदेखि छ वटासम्म सन्तान जन्माइरहेका छन्।
आर्थिक रुपमा पनि निकै कमजोर रहेका नयाँ बस्तीका महिलाहरूलाई अब म आमा बन्दिनँ भन्ने अधिकार छैन। उनीहरू आफ्नो श्रीमानले कतिबेला अरू सन्तान नजन्माउने भन्छन् र आफूले सन्तान जन्माउँदाको पीडालाई रोक्न सक्छु भन्ने पर्खाइमा हुन्छन्।
शिक्षाको पहुँचबाट कोसौं पर रहेका त्यहाँका महिलाहरू श्रीमानले ज्याला मजदुरी गरेर आएको पैसाले सन्तानको पेट पाल्छन्। सन्तानले घर भरिएको हुन्छ तर खाने अन्नको भाँडा खाली। कुनै दिन श्रीमानले मजदुरी गर्न नपाए छोराछोरीको भोको पेटमा हाल्ने अन्नको खोजीमा हिँड्नुपर्ने बाध्यता त्यहाँको महिलाहरूको छ।
बिहान-बेलुका खान पनि समस्या हुने अवस्थामा रहेका महिलाहरू आफूले हुर्काउन सक्नेभन्दा धेरै सन्तान जन्माउन बाध्य छन्। जसले गर्दा त्यहाँका बालबालिका न त आवश्यक पौष्टिक आहार पाउन सकेका छन् न उचित शिक्षा।
नयाँ बस्तीकी ३० वर्षीया सबिता प्रजा, जसले १३ वर्षको उमेरमै विवाह गरेकी थिइन्। ६ वटा सन्तानलाई जन्म दिएकी उनको अहिले ४ छोरी र एक छोरा गरी पाँच सन्तान छन्।
तीन वटा बच्चा त १५ महिनाको फरकमै छन्। जो एकैपटक उनको काखमा खेलिरहेको देख्न सकिन्छ। विवाह गरेको पाँच वर्षसम्म सन्तानको सुख नपाएकी उनले सन्तान पाएपछि पनि सुख पाउन सकिनन्।
पाँच वर्षसम्म सन्तान जन्माउन नसकेको भन्दै अनेक यातना सहेकी उनले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएपछि सुरु भएको उनको दुखको दिन अहिले छोरा जन्मिएपछि सकिएको छ। पहिलो सन्तान नै छोरी जन्माउँदा अपमानित भएकी उनको छोराको आशमा जन्माएको सन्तान लगातार ४ पटकसम्म छोरी नै भएपछि केके मात्रै सहन परेन।
दोस्रो सन्तान पनि छोरी नै जन्माएपछि श्रीमान् र परिवारबाट हेला सहेकी उनले जन्मनासाथ छोरीको मृत्यु भएपछि अर्को आरोप खेप्नुर्यो। बच्चालाई आफैंले मारेको र परपुरुषसँग लागेको आरोप मात्रै होइन सुत्केरी ज्यानमा सबिताले श्रीमानको निकै कुटाइ पनि खानुपर्यो।
तेस्रो र चाैथो स्थान नै छोरी जन्माएकी उनले परिवार र श्रीमानबाट यति यातना पाइन् कि त्यसको सीमै छैन। त्यो सहन नसकेर सबिताले छोरीहरूलाई घरमै छोडेर माइत गएर बस्नपर्यो। करिब दुई महिनापछि श्रीमान् लिन आए र फकाएर घर फर्काए। घर पुगेर पाँचौ सन्तानको रुपमा एउटा छोरा जन्मियो। छोरा जन्मिएपछि नै होला सबिताले आफूले जीवन पाएको महसुस गरेकी।
तर एउटा छोराले पनि श्रीमानलाई पुगेन। ‘एउटा छोरा, एउटा आँखा बराबर। एउटा आँखाले के देख्न सकिन्छ ? भन्दै श्रीमानले फेरि अर्को छोरा जन्माउन दबाब दिनुभयो। तर त्यसपछि पनि छोरी नै जन्मिएपछि भने अब अरु सन्तान नजन्माउने निष्कर्षमा उहाँ पुग्नुभयो,’ सबिताले भनिन्।
उसो त उनले अहिले काखमा बोकिरहेको छोरीलाई कोखमै मार्न कहाँ नखोजेकी हुन् र ? ‘गाउँमा सबैसँग मागे, अस्पताल पनि धाए र मलाई मेरो बच्चा मार्ने औषधि देऊ भने तर कसैले दिएनन्। अस्पतालले बच्चा फाल्न पैसा लाग्छ भन्यो तर मसँग पैसा थिएन। त्यसपछि मैले बाध्य भएर छोरीलाई जन्म दिएकी हुँ,’ उनले दुःखले भरिएका अतीत सुनाइन्।
यति भनिरहँदा उनका आँखा रसाइसकेका थिए, मुटु भक्कानिसकेको थियो। तर आफूलाई सम्हाल्दै उनले छोरा जन्मिएपछि आफ्नो दिन फेरिएको बताइन्। ‘अहिले त मलाई श्रीमानले कहिल्यै कुट्नुहुन्न। बरु माया गरेर कहिलेकाहीँ माछा, मासु पनि ल्याइदिनुहुन्छ। छोरा र छोरी दुवैलाई उस्तै माया गर्नुहुन्छ,’ उनले खुसी हुँदै सुनाइन्।
सबिताको जस्तै कथा छ, सम्झना प्रजाको पनि। दुई वर्ष अघि मात्रै छोरा जन्माएकी उनी अहिले श्रीमानको प्रियसी बनेकी छन्। चार वटा छोरीपछि श्रीमानलाई छोरा उपहार दिएपछि नै हो सम्झनाले श्रीमानको माया पाउन थालेको। स्कुल भर्ना नै हुन नपाएकी सम्झानाले १५ वर्षकै उमेरमा विवाह गरेकी थिइन्। बुवाको मृत्यु भएपछि आमाले अर्कै विवाह गरेर गएपछि सुरु भएको उनको दुःखको सिलसिला कहिले रोकिन्छ भन्ने पर्खाइमा छिन्, सम्झना।
अभिभावकविहीन बनेपछि सानै उमेरबाट अरूको घरमा काम गर्न बसेकी उनले विवाह गरेपछि श्रीमान् र परिवारको माया पाउने आश गरेकी थिइन् तर श्रीमानले चाहेकै बेलामा छोरा जन्माउन नसकेपछि श्रीमान्, घर परिवार र समाजबाट पनि तिरस्कार सहन परेको उनी बताउँछिन्।
‘पहिलोपटक नै छोरी जन्मिएको भनेपछि नाक खुम्च्याउनुभएको थियो उहाँहरूले। त्यसपछि दोस्रोपटक पनि छोरी जन्मिएपछि मलाई यातना नै दिन थाल्नुभयो। न त छोरीलाई घरको कसैले कहिल्यै छुनुभयो न त मलाई राम्रो व्यवहार गर्नुभयो। बरु समाजबाट पनि छोरी मात्रै जन्माएको भनेर कुरा काट्थे,’ सम्झानाले दुःख बिसाइन्।
जन्मिएको छोरीलाई फर्केर पनि नहेरेका श्रीमानको छोरा पाउने रहर भने मरेको थिएन। तेस्रो पर चौथो पटक पनि उनले छोरीलाई नै जन्म दिइन्, जसले गर्दा सम्झनाले कयौं रात श्रीमानको पिटाइ खाएर बस्नपर्यो। ‘बल्ल बल्ल पाचौं पटकमा मेरो भाग्य बनेर छोरा जन्मियो,’ उत्साहित हुँदै सम्झनाले छोरा जन्मदाको खुसी सुनाइन्। छोरा जन्मिएदेखि उनले श्रीमानको पिटाइ खान परेको छैन, घरमा हेलाँ सहन परेको छैन र समाजमा पनि शिर ठाडो गरेर 'छोराको आमा' भनेर हिँड्न सकेकी छन्।
सोही गाउँकी बिस्मिता प्रजाको कथा भने अलि फरक छ। छोराको आशमा अनेक यातना सहेको सबिता र सम्झनासँगै उभिँदै छोरीको रहरको कथा सुनाउँछिन् बिस्मिता। २५ वर्षमा ३ वटा छोराको आमा बनेकी उनले पनि १५ वर्षकै उमेरमा विवाह गरेकी थिइन्। छोरी पाउने आशमा लगातार ३ सन्तानलाई जन्म दिएकी उनले एक महिना अघि मात्रै पुनः छोरा जन्माइन्।

‘श्रीमानलाई छोरीको साह्रै रहर लाग्यो रे मलाई पनि एउटा छोरी भइदिए हुन्थ्यो भन्ने लागेको थियो। तर खोइ ३ पटकसम्म छोरा नै जन्मिए अब अर्को पाइन्छ कि पाइँदैन सल्लाह गर्नुपर्छ,’ श्रीमानको निर्णयलाई पर्खेको इसारा गर्दै बिस्मिताले आफ्ना दुःख र रहरको कुरा सुनाइन्।
छोराको आशमा १२ देखि १६ वटासम्म सन्तान जन्माउने वृद्धाहरू पनि त्यही गाउँमा छन्। उनीहरूलाई हेर्दा लाग्छ, दुईदेखि छ वटासम्म सन्तान जन्माउनुलाई सहजै स्विकार्छन्। -थाहाखबरबाट