
ढल्केवर (धनुषा)- धनुषाको मिथिला नगरपालिकामा संचालन गरिएको कोभिड–१९ विरुद्धको खोप अभियानमा खोप लगाउन आएका आम सर्वसाधारण जनतालाई दिन सिमित कोटा भनेर लक्षित समूह भित्रकालाई मात्र लगाउने भनेर फर्काइ राती आफ्ना मान्छेलाई बाेलाई लुकी लुकी खोप लगाउने गरेपछि विवाद भएको छ ।

यतिवेला कोभिड–१९ विरुद्धको खोप अभियान चलिरहेको छ । विभिन्न चरणमा भारतमा बनेको कोभिशिल्ड, चीनमा बनेको भेरोसेल र अमेरिकामा बनेको जेनसेन खोप लगाइएको छ । अहिले देशभर प्रायजसो ठाउँमा अमेरिकाका जोनसन एन्ड जोनसन कम्पनीले विकास गरेको जोनसन खोप लगाउने अभियान सञ्चालन छ ।
सरकारले विभिन्न चरणमा उमेर समूह तोकेर खोप अभियान चलाइरहेका छन् । तर पहुँचको भरमा लक्षितभन्दा अन्यवर्गले खोप पाइरहेको चर्चा व्याप्त छ । ठुलाबडाले खोप लगाए । आसेपासेलाई खोप दिइयो । राजनीतिक पहुँच भएकाहरुले खोप पाए जस्ता समाचारहरु नौलो होइन । हुनपनि खोपबाट कोहि बञ्चित हुनुहुँदैन । खोप सबै नेपाली जनताले समान रुपमा पाउनुपर्छ । तर दिनभर खोपकेन्द्रमा खोपको प्रतिक्षामा बसेका नागरिकलाई फर्काएर रातिको समयमा बन्द कोठाभित्र आफ्नो आफन्तलाई खोप लगाइयो भनेर सुन्दा जो कोहीलाई पनि नराम्रो लाग्छ ।

यस्तै घटना धनुषाको मिथिला नगरपालिकाको मुख्य केन्द्रको रुपमा रहेको ढल्केवर स्थित स्वास्थ्य चौकीमा भएपछि विवाद उत्पन्न भएको छ ।
मिथिला नगरपालिकाका स्वास्थ्य शाखा संयोजक अशोक भण्डारीका अनुसार नगरपालिकाभित्र बिहिवार र शुक्रवार गरी दुईदिन खोप केन्द्रहरुमा खोप लगाउने कार्यक्रम तोकिएको थियो । तर धेरैलाई यसबारे जानकारी थिएन । जानकारी भएकाहरुले बिहिवार खोप लगाए । शुक्रवार अपेक्षाभन्दा बढि नागरिक खोप लगाउन ढल्केवर स्वास्थ्य चौकी पुगे । सबैलाई नागरिकता लिँदै नम्बरमा लगाइयो । क्रमसंख्या अनुसार नागरिकहरु खोप लगाउँदै पनि गए । खोप कार्यक्रममा अबेर साँझसम्म मिथिला नगरपालिकाकी उपमेयर तारा कुमारी बस्नेत स्वयं उपस्थित थिइन् । हुँदाहुँदै साँझको ७ बजेपछि स्वास्थ्यकर्मीहरुले बाँकी भएकालाई शनिवार विहान खोप दिने भन्दै कार्यक्रम बन्द भएको सबैलाई सुनाएपछि सबै आ–आफ्नो घर तीर लागे ।
स्वास्थ्य संयोजक भण्डारीले शुक्रवार अबेर सम्म खटेर कर्मचारीले खोप कार्यक्रम बन्द गरेर हिडेपछि पछि राती ९ बजे पछि उपमेयरजीले स्थानीय कर्मचारीलाई बोलाएर खोप लगाउन लगाएको कुरा थाहा पाएको बताए । उनले भने, 'अबेर सम्म कर्मचारि खटेकै थियो राती राती खोप लगाउनु भन्दा भोली पल्ट विहान एउटा सिस्टममा बसेर खोप लगाउँदा उचित हुने थियो । यसमा हामी कर्माचारी खट्न तयार नै छौं । यस्तो नगरेको भए हुन्थ्यो ।'तर कार्यक्रम बन्द भएको सूचना सुनाएको एकघण्टापछि राजनीतिक पहुँचका आधारमा र नेताको आसेपासेलाई बन्दकोठामा खोप लगाउन थालियो । विशेष सूचनाको आधारमा संचारकर्मीको टोली पुगेपछि कर्मचारी र विचौलियाको भागाभाग भयो । स्वाथ्यकर्मी पनि खोप त्यतिकै छाडेर भागे । हुँदाहुँदै युवाहरुको एक समुह पनि स्वास्थ्य चौकी पुगेपछि विवाद चर्किएको थियो ।
राति खोप दिइरहेको थाहा पाएर स्वास्थ्य चौकी पुगेका ढल्केवरका युवा राकेश सिंहले राजनीतिको आडमा खोपमा धाँधली भएको आरोप लगाए । उनले केहि राजनीतिकर्मीहरुले आफ्नो आसेपासेलाई खोप लगाउन रातिको मौका छोपेको दावी गरे । दिउँसो १२ बजेदेखि खोपको लागि प्रतिक्षामा बसेको आफू साँझ ७ बजे कर्मचारीबाट धकालिएर बाहिर निकालिएको सिंहले दुखेसो सुनाए ।
राति साढे आठ बजेको समयमा स्वास्थ्य चौकी पुगेकी उर्मीला श्रेष्ठले राति राति चोरेर कोरोना विरुद्धको सुइ लगाइरहेको थाहा पाएर आफू आएको बताइन् । साँझ खोप नपाएर निराश भएकी ढल्केवरकी जमुना श्रेष्ठ पनि राति स्वास्थ्य चौकी पुगेकी थिइन् । उनले अहिले खोप लगाइरहेको सुनेपछि हतारहतार आएको बताइन् ।
यता ढल्केवर स्वास्थ्य चौकीका ईन्चार्ज रामप्रबोध साहले आफु साँझ ७ बजेनै खोप कार्यक्रम स्थगित गरेर बाहिर निस्किएको प्रतिक्रिया दिए । उनले यस घटनाको जिम्मेवार खोप लगाउने स्वास्थ्यकर्मी नै रहेको भन्दै पन्छिए । ईन्चार्ज साहले कार्यालयको साँचो कार्यालय सहयोगीको जिम्मामा रहेको पनि जनाए ।
यता कार्यालय सहयोगी रामभरोस महतोले आफूलाई इन्चार्ज रामप्रबोध साहले कार्यालय बन्द गर्न निर्देशन दिएर बाहिर निस्केको बताए । आफूले कार्यालयमा ताल्चा लगाएपनि प्रभा सिस्टरले खोल्न लगाएको बताए । ‘सिस्टरले मलाई कार्यालय खोल्न भन्नुभो । उहाँले कुनै अत्यावश्यक सामान लिनुहुन्छ भन्ने लाग्यो । तरभित्र खोप लगाउन थाल्यो’, कार्यालय सहयोगी महतोले भने ।
स्थानीय बधेश्वर महतोले उपमेयर तारा लामाकाे निर्देशनमा हेल्थ पोस्ट बाट इन्चार्ज बाहिर निस्की सके पछि राती ९ बजे तिर पिउनलाई ढोका खोल्न लगाइ आफनो अनुकुल को हेल्थ पोस्ट को कर्मचारी मार्फत आफ्नो आसे पासेको मान्छेहरुलाई खोप उपलब्ध गराउनु दुख लाग्दो भएको बताए । उनले भने, 'राती खोप लगाइरहेको थाहा पाएर ढल्केवरको युवाहरु पुग्दा सबै भागा भाग भयो ,खोप जस्तो संबेदनसिल कुरामा उप मेयर जस्तो ले यति धेरै गैर जिम्मेवार काम भएको छ ।' उनले जनता सबै बराबर भएकोले राज्यले उपलब्ध गराएको सेवा सुविधा समान रुपमा पाउनु पर्ने जनप्रतिनिधिले काखापाखा गर्नु नहुने बताए ।
यसअघि राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो अनुगमनको आधारमा कतिपय केन्द्रमा खोप वितरणमा विवाद भएको, दिनभर बस्दा पनि ज्येष्ठ नागरिकले खोप नपाएको र लक्षितभन्दा अन्य वर्गले खोप पाइरहेको भन्दै त्यसलाई रोक्न मन्त्रालयलाई पत्राचार पनि गरेको थियो ।