महेन्द्रनगर - धनुषामा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी विभिन्न ८ वटा सूचकको विषयमा सामाजिक जवाफदेहिता सम्बन्धी संवाद कार्यक्रम सम्पन्न भएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजस्थित हिमालय युवा क्लवको सभाहलमा भएको सो संवादमा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी विभिन्न ८ वटा सूचकहरुको विषयमा समुदाय र ट्राफिक प्रहरीहरुबीचमा छलफल भएको छ ।
सामुदायिक अंकपत्रका लागि गरिएको सो सामाजिक जवाफदेहिता संवाद कार्यक्रममा सामुदायका विभिन्न क्षेत्रका अगुवा तथा ट्राफिक र प्रहरीहरुबीच सडकमा हुने सवारी दुर्घटना न्यूनिकरणका लागि विभिन्न ८ वटा सूचकलाई आधार मानेर दुई दिनसम्म छलफल भएको थियो । सो संवाद कार्यक्रमबाट सवारी दुर्घटना न्यूनिकरणमा ट्राफिक प्रहरीले गर्दै आएको कार्य र सोको प्रभावकारिता लगायतको विषयमा समुदाय अर्थात सेवाग्राही समूहले ८ वटै सूचकमा आफ्नो सामूहिक मत जाहेर गर्दै अंकभार दिएको थियो ।
यस्तै सेवा प्रदायक समूहको तर्फबाट ट्राफिक प्रहरीले समेत सोहि सूचकमा आफुले गर्दै आएको कार्यको प्रभाव, अवस्था र समुदाय अर्थात सेवाग्राहीले खेल्लुनुपर्ने भुमिका लगायतको विषयमा आफ्नो समूहको तर्फबाट अंकभार दिएको थियो । दुवै समूहबाट आएको अंकलाई कारण सहित फेरी छलफलकै माध्यमबाट संयुक्त अंकभार दिएको थियो । दुवै समूहको र संयुक्त अंकलाई माकुराको जालो जस्तै ग्राफचार्टमा समेत देखाएको थियो ।
छलफलको क्रममा विभिन्न चार समूहमा अंकभार छुट्याइएको थियो । जसमा कमजोर अवस्थाको समूहमा १,२,३ नम्बर राखिएको थियो भने ठिकै अवस्थाको समूहमा ४,४,६ अंक राखिएको थियो ।
यस्तै राम्रो अवस्थाको समूहमा ७ र ८ अंकभार दिएको थियो भने धेरै राम्रो अवस्थाको समूहमा ९ र १० अंक राखिएको थियो । सो अंकभारको अनुसार संवाद र छलफल गर्दा समुदाय अर्थात सेवाग्राहीको समूहबाट सूचक अनुसार बढीमा ७ अंकसम्म आएको थियो भने सेवा प्रदायक ट्राफिक प्रहरीको समूहबाट पनि सूचक अनुसार बढीमा ७ अंकसम्म आएको थियो । दुवै समूहबाट सवारी दुर्घटना न्यूनिकरणको विषयमा ८ वटै सूचकमा राम्रो अवस्था र धेरै राम्रो अवस्थाको अंकभार समूहमा नम्बर आएको थिएन् ।
दुवै सूमहबाट राम्रो र धेरै राम्रो अवस्थाको अंक नआएपछि छलफल गर्दै संयुक्त रुपमा अगामी दिनमा सुधार गर्नुपर्ने विभिन्न कार्य र क्रियाकलाप सहितको कार्ययोजना बनाइएको थियो । सो कार्ययोजना अनुसारको कार्य र क्रियाकलाप अगामी दिनमा कार्यान्वयनको लागि पहल गर्ने आयोजक संस्थाले जनाएको छ ।
युके एआडडी, इन्टरनेशनल अलर्ट, यूएन अओपिएस, नेपाल प्रहरी र सहजको सहयोग तथा आयोजनामा सो दुई दिने संवाद कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा सामुदायिक अंकपत्रका सहजकर्ताहरु राम छविला यादव, ललित कुमार राय, मातिलाल महतो, मनिष कुमार ठाकुर, श्रीदेव ठाकुर, आदर्श कुमार ठाकुर तथा ईन्टरनेशनल एलर्टका सरोज भुषाल र रामभरोसी महतोले सहजीकरण गरेका थिए ।
कार्यक्रममा समुदाय र सेवाग्रहीको तर्फबाट वडा सदस्य सावित्री देवी महतो, कौशल्या महरा, हिमालय युवा क्लवका अध्यक्ष अरुण कुमार महतो, पत्रकार विनोद महतो, चालक संजय दास, सुरेश महतो, सिंहेश्वर सिंह, व्यवसायी दुखरण महतो, स्वास्थ्यकर्मी शुभद्रा महतो, सहकारीकर्मी लक्ष्मीनारायण महतो, अजय कुमार महतो, फ्रेस महतो, युवा रामकृष्ण महतो लगायतको सहभागिता रहेको क्लवले जनाएको छ ।
यस्तै सेवा प्रदायक समूहबाट ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका ट्राफिक प्रहरी र प्रहरीहरुको सहभागिता रहेको थियो ।




