काठमाडौं : सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ। अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा अन्तिम निर्णय लिनका लागि आज दिउँसो बैठक बस्न लागेको हो।
सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुबीच एमसीसीबारे निर्णय गर्न बैठक बस्न लागेको हो।
बैठक आज दिउँसो ३ बजे बस्ने बताइएको छ। यसअघि, हिजो बसेको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल हुने बताइए पनि सत्तारुढ दलहरुबीच सहमति नबन्दा टेबुल हुन सकेन।
संसद् बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमसीसी टेबुल हुनबाट रोक्न पहल गरेका थिए। दुई नेताबीचको भेटमा आज गठबन्धन दलहरुको बैठक राखेर सहमति खोज्ने सहमति बनेको थियो।




