जनकपुरधाम । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि अपिल जारी गर्दै आफ्नो प्रतिवद्धता सार्वजनिक गरेको छ। स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक नगर्ने जनाएको माओवादी केन्द्रले अपिल भने सार्वजनिक गरेको हो।
नेकपा माओवादी केन्द्रले निर्वाचनका लागि प्रमुख ७ प्रतिवद्धता सार्वजनिक गरेको छ। उसले अर्थन्त्रको प्रमुख आधार, कृषिमा आमूल सुधार भनेको छ।
हरेक पालिकामा शीत भण्डार, संकलन तथा प्रशोधन केन्द्र र कृषि बजार व्यवस्था गरिने माओवादीको प्रतिवद्धता छ। माओवादी केन्द्रले आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने आश्वासन दिएको छ।
'टोलटोलमा सहकारी घरघरमा रोजगारीको व्यवस्था गरिनेछ। एक टोल एक उद्यम, एक टोल एक उत्पादन, बेरोजगारी अन्त्य, गरिबी निवारण कार्यक्रम लागू गरिनेछ,' माओवादीले आफ्नो अपिलमा भनेको छ, 'सबै नगर-गाँउ पालिकामा आधारभूत अस्पताल र सबै वडाहरूमा स्वास्थ्य केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन गरिनेछ।औषधिजन्य जडिबुटीहरू प्रशोधन गरी औषधि उत्पादनमा जोड दिइनेछ।'
कक्षा १२ सम्म निःशुल्क शिक्षा व्यवस्था गरिने भन्दै माओवादी केन्द्रले हरेक नगर तथा गाउँपालिकामा बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने उल्लेख गरेको छ।
'काष्ठ, गैरकाष्ठ, जडिबुटीमा आधारित उद्यमशीलताको विकासका लागि 'समृद्धिका लागि वन' कार्यक्रम सञ्चालन गरिनेछ। सहरी वन कार्यक्रम लागू हुनेछ,' माओवादीले सार्वजनिक गरेको अपिलमा भनिएको छ, 'सबै पालिकाको केन्द्रसम्म कालोपत्रे सडक निर्माण गरी राष्ट्रिय सडक सञ्जालमा जोड्ने व्यवस्था मिलाइने छ।नेपालको पानी जनताको लगानी नारालाई जनस्तरसम्म कार्यक्रम बनाई लागू गरिने छ।'
होमस्टे लगायत पर्यटनमैत्री उत्पादन विकास गरी आयआर्जनमा टेवा पुर्याउने माओवादीले प्रतिवद्धता जनाएको छ।




