सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाको वडा नम्बर–७ का वडाध्यक्ष निरध्वज कार्कीले अनौठो घोषणा गर्नुभएको छ ।
पदभार ग्रहण गर्दै वडाध्यक्ष कार्कीले भन्नुभयो – ‘अबको ५ वर्ष जनताको नोकर भएर काम गर्छु ।’ उहाँले भनेको नोकरको अर्थ हो – ‘जनआवश्यकता अनुसार, जनचाहाना अनुसार, जनताको सेवक भएर काम गर्ने ।’
वडाबासीले ५ वर्षमा नोकरको नम्बर वान दर्जामा मूल्यांकन गर्नेगरी काम गर्ने उहाँले बताउनुभयो । आफूसँग ठूला–ठूला योजना केही नभएको भन्दै वडाध्यक्ष कार्कीले आफ्नो ध्यान जनताका स–साना आवश्यकता पूरा गर्नेतर्फ केन्द्रित रहने बताउनुभयो ।
’मलाई हरिवनका जनताले राम्रो काम गर्न चुनेर पठाउनुभएको हो, कस्तो जनप्रतिनिधि चुनिएछ भन्ने पार्नेछैन, म जनताको शासक होइन सेवक बन्नेछु, म जनताको नोकर बन्नका लागि आज यो ठाउँमा छू, नोकरमा पनि नम्बर वान नोकर भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।’
एमालेबाट वडाध्यक्ष्यमा निर्वाचित कार्कीले शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली लगायत अत्यावश्यक विषयमा कुनै गल्ती नगरी भएर काम गर्ने बताउनुभयो । दलित, पिछडिएका वर्ग, सुकुम्वासी जनताको पक्षमा काम गर्ने उद्घोष पनि उहाँले गर्नुभयो । जनजिविकाका सवालमा जनताले प्रश्नै नउठाउने गरी काम गर्ने कार्कीको भनाइ छ ।
वडाध्यक्ष कार्कीले पदबहालीकै दिन अल्पसंख्यक, दलित, पिछडिएका वर्ग, अनाथवर्गका व्यक्तिहरुलाई साथमा राखेर भन्नुभयो – ’तपाईंहरुलाई सक्दो सहयोग गर्छु, दु:ख महशुस हुन दिन्न ।’ जनताको पार्टीबाट निर्वाचित वडाध्यक्ष भएकाले पनि हरेक पल वडाबासीकै नजिक रहने दाबी कार्कीले गर्नुभयो ।
अल्पसंख्यक, दलित, पिछडिएका वर्ग, अनाथ वर्गको समूहबाट कम्तिमा पनि पाँच जनालाई नि:शुल्क छात्रवृत्तिको व्यवस्था गर्ने वडाध्यक्ष कार्कीले सुनाउनुभयो । सुकुम्वासी बस्तीमा हाल देखिएका बिजुलीका तारपोल, खानेपानीको समस्या चाँडै नै सामाधान गर्ने भन्दै उहाँले सुकुम्वासी, गरिब र अनाथको पहिचान गरी १२ महिनामा एक महिनाको बिजुलीको विल वडाले तिर्ने वडाध्यक्ष कार्की बताउनुहुन्छ ।




