महोत्तरी। महोत्तरीमा आत्महत्या गर्नेको संख्या अत्यधिक बढेको छ । पछिल्लो ३ महिनायता मात्र महोत्तरीमा १८ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार आत्महत्या गर्नेमा ८ महिला र ८ जना पुरुष छन् । १८ जनामध्ये २ जना बालिकासमेत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आत्महत्याको क्रम बढेसँगै महोत्तरीमा यसको कारण खोजीको विषय बनेको छ ।
पहिलेको तुलनामा झनझन् आत्महत्या बढ्न थालेपछि यसको कारणबारे महोत्तरीमा समाजशास्त्रीबीच बहस नै सुरु भएको छ । कतिपय समाजशास्त्रीले आत्महत्यालाई गरिबी, बेरोजगारीसँग जोडेका छन् भने कतिपयले आत्महत्या दुरुत्साहनलाई व्याख्या गरेका छन् । आत्महत्या दुरुत्साहनको आरोपमा मात्र यो ३ महिनाको अवधिमा ४ वटा मुद्दा परेका छन् ।
केही वर्षअघिसम्म महोत्तरीमा आत्महत्याको स्वरुप फरक थियो । ‘पारिवारिक झै–झगडा, दाइजो नल्याएको आरोपमा आत्महत्या गर्न बाध्य बनाइने गरिन्थ्यो । त्यसमा पनि आत्महत्यामा महिलाहरु अधिक हुन्थे,’ गौशालाका रामपुकार बताउँछन् ।
तर, आजभोलि महिला–पुरुष बराबरी संख्यामा आत्महत्या गर्ने गरेको पाइएको छ । यो तीन महिना अवधिको आत्महत्याको तथ्यांकलाई हेर्ने हो भने पनि बराबरी नै छ । कहिले महिला पुरुषबाट पीडित त कहिले पुरुष महिलाबाट पीडित हुनु पनि आत्महत्याको कारक बन्ने गरेको प्रहरीको भनाइ छ ।
आत्महत्यालाई न्यूनीकरण गर्न स्थानीय सरकारको भूमिकासमेत दरिलो हुनुपर्ने विज्ञहरू बताउँछन् । गरिबीका कारणले पनि आत्महत्या बढिरहेको विभिन्न तथ्यले पुष्टि गरेको छ ।




