
बिशाल बस्नेत,महोत्तरी - प्रदेश र सङ्घको निर्वाचन निजिकिँदै गर्दा जिल्लामा विभिन्न दलका शीर्ष नेताहरूको दौडधुप निकै बाक्लिएको छ । महोत्तरीमा विशेष गरी ३ जना नेताहरूको चर्चा छ । माओवादी केन्द्रबाट गिरिराजणि पोखरेल, लोसपाबाट अध्यक्ष महन्थ ठाकुर र लोसपाबाटै वरिष्ठ नेता शरद सिंह भण्डारी छन् । धेरैपटक मन्त्री र आफ्नो राजनीतिक यात्रालाई महोत्तरीबाटै उकासेका यिनै नेताहरूको परिचर्चा भइरहेको छ । तर जिल्लामा यी नेताहरूले के गरे, के गरेनन् भन्ने विषयमा भने सर्वसाधारणले आफ्नै धारणा बनाउन थालेका छन् । चिया पसल र टोलटोलमा हुने चर्चाले आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा कसले बाजी मार्ला भन्ने बाक्लै भविष्यवाणी पनि भइरहेको छ ।
लोसपाका वरिष्ठ नेता भण्डारीले त सङ्घीय सरकारको आधा दर्जनभन्दा बढी महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । २०३८ सालदेखि निर्वाचनमा सहभागी बन्दै आएका नेता भण्डारी मधेस प्रदेशमा नै सबैभन्दा बढी विजयी हुने नेतामा गनिन्छन् । नेता भण्डारीले विभिन्न समयमा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाए पनि विकासका दृष्टिले भने महोत्तरी पछाडि नै मानिन्छ । नेपाली कांग्रेस, राप्रपा, राजपा, जसपा हुँदै हाल लोसपामा रहेका नेता भण्डारीलाई नजिकबाट चिन्नेहरूले अवसरवादी नेता पनि भन्छन् । २०७० मा बाहेक २०३८ सालदेखि लगातार विजयी हुँदै आएका भण्डारीले सर्वसाधारणलाई प्रयोग गरेर आफूलाई विकासप्रेमी सावित गर्न खोजे पनि जनताको दैनिक समस्यामा भने खासै परिवर्तन आउन सकेको छैन । अहिले पनि जिल्लामा शैक्षिक र भौतिक विकास दयनीय नै छ ।
रक्षादेखि भौतिक मन्त्रीसमेत भएका भण्डारीसँग महोत्तरीको विकासमा अहिले पनि गुनासाहरू यत्रतत्र सुनिन्छन् । यसैको परिणाम हुन सक्छ २०७० मा नेता भण्डारीले हार बेहोरे । तर २०७४ मा तत्कालीन राजपाबाट महोत्तरी निर्वाचन क्षेत्र– २ बाट पुनः निर्वाचित भए । जानकारहरूका अनुसार विकासका काममा सन्तोषजनक नभए तापनि क्षेत्र नम्बर २ मा भण्डारी जतिको राजनीतिक नेता अरू नभएका कारणले पनि जनताले पटकपटक अनुमोदन गरेका हुन् । राजनीतिमा निकै चतुर मानिने नेता भण्डारी यस पटक पनि क्षेत्र नम्बर २ बाटै सङ्घको निर्वाचन लड्ने लगभग पक्का छ । अहिले पनि उनी उक्त क्षेत्रको बलियो उम्मेदवार मानिन्छन् । क्षेत्र– १ मा लगातार ४ निर्वाचन जितेर झन्डै ३० वर्षदेखि राज गर्दै आएका अर्का चर्चित नेता हुन् गिरिराजमणि पोखरेल । माओवादी केन्द्रका नेता पोखरेलले २०६४ देखि त्यस क्षेत्रबाट नै जित्दै आएका छन् । खोटाङ स्थायी घर भए पनि महोत्तरी– १ बाट निर्वाचित हुँदै आएका नेता पोखरेल अन्य नेताको तुलनामा आफ्नो निर्वाचन क्षेत्रमा बाक्लै आउने नेतामा पर्छन् ।
विशेष गरी बर्दिबास,गौशाला र भङ्गाहा नगरपालिकाको शैक्षिक विकासमा उनले महत्त्वपूर्ण योगदान पु¥याएका छन् । बर्दिबास नगरपालिका त शैक्षिक हबकै रूपमा विकास हुँदै गएको छ, जसको श्रेय पोखरेललाई नै स्थानीयले दिने गरेका छन् । तर पार्टीभित्रको आन्तरिक कलहले यो निर्वाचनमा भने पोखरेल कमजोर उम्मेदवार देखापरेका छन् । जनमोर्चा धारका पोखरेल समूह र संस्थापन प्रचण्ड समूहको जिल्लामा अहिले त्यति राम्रो सम्बन्ध छैन जसको असर निर्वाचनमा देखिने पक्का छ । स्थानीय निर्वाचनमा माओवादी पराजय हुनुमा नेता पोखरेलको नै हात रहेको आरोप पार्टीभित्रबाट लागेको छ । तर, पोखरेलले अझै पार्टीभित्रको आरोपलाई गलत प्रमाणित गर्न सकेका छैनन् । स्थानीय निर्वाचनदेखि नै जिल्ला इन्चार्ज राजु खड्का र पोखरेलबीचको दूरी बढ्दै गएको छ ।
अहिले खड्का र पोखरेल पक्षका कार्यकर्ताहरू सामाजिक सन्जालमा खुलेर एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।जिल्ला र प्रदेशमा पार्टीभित्रैका जिम्मेवार नेताहरू पोखरेललाई यसपटक दोह¥याउन चाहँदैनन् । यदि दोहोरिएमा पनि पार्टीभित्रैको असहयोगले हार बेहोर्ने कतिपयको विश्लेषण छ । पार्टीकै कारणले पनि नेता पोखरेल क्षेत्र– १ मा पहिलाको जस्तो बलियो उम्मेदवार भने बन्न सकेका छैनन् । यता लोसपाका अध्यक्ष महन्थ ठाकुरको महोत्तरीमा नै स्थायी घर भए पनि सर्लाही– ६ बाट निर्वाचनमा सहभागी बन्दै आएका थिए । २०४७, २०५१ र २०५६ मा उजले सर्लाही– ६ बाट नै जिते । २०६४ र २०७० मा ठाकुरले लगातार सोही क्षेत्रबाट निर्वाचन हारेपछि २०७४ मा महोत्तरी क्षेत्र– ३ बाट निर्वाचनमा विजयी बने ।
आफ्नो निर्वाचन क्षेत्रमा खासै नआउने नेता ठाकुरप्रति जनमानसमा थुप्रै गुनासाहरू छन् । तर क्षेत्र– ३ मा ठाकुरजतिको प्रतिस्पर्धी अन्य नेता नभएको कारणले नेता ठाकुर नै विकल्प बन्ने कतिपयको ठम्याइ छ । तर नेता ठाकुर महोत्तरीबाट नै लड्छन् कि पुरानो ठाउँ सर्लाहीमा नै जानेछन् अझै टुङ्गो लागेको छैन । महोत्तरीमा भन्दा सर्लाहीमा नै बाक्लो आवतजावत भएको हुनाले सर्लाहीबाट नै उनले प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेको ठाकुर निकट नेताहरूको भनाइ छ ।