जनकपुरधाम - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैसंग गठबन्धन नगरी एमाले एक्लै चुनावमा जाने बताएका छन्।
नेकपा एमाले धनुषाले आज आयोजना गरेको वृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नै एजेण्डा र उद्देश्यका साथ एमाले एक्लै चुनाबमा जाने र कसैसँग गठबन्धन नगर्ने स्पष्ट पारे ।
आगामी निर्वाचनमा पाँच दलिय गठबन्धनले एमालेलाई कुनै फरक नपार्ने जिकिर गर्दै अध्यक्ष ओलीले एमालेप्रति बढ्दै गएको आकर्षणका कारण पाँच दलिय गठबन्धनका नेताहरुको अनुहारमा चमक हराउँदै गएको बताए ।
“अहिले देशभरका जनता तथा अन्य पार्टीका नेता कार्यकर्ताहरुको आकर्षण एमालेप्रति बढ्ेको देखेर अरु दलका नेताहरु तर्सिएका छन्”, उनले भने, “त्यसैले उहाँहरु गठबन्धन गरी चुनावमा जाने रट लगाई रहनुभएको छ, किन कि उहाँहरुमा एमालेसँग एक्लै चुनाब लड्ने आँट छैन् ।”
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, “एमाले कसैसँग गठबन्धन गर्दैन् तर, कहिले काँही अरु दलको अस्तित्व जोगाई दिनका लागि भएपनि हामी तालमेल गर्न सक्छौ ।” एमाले आफ्नो लागि होईन्,साना पार्टीलाई उद्धार गर्नको लागि मात्र ताममेल गर्नुपर्ने अवस्था आउन सक्छ उनको कथन थियो ।
ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले उम्मेदवारी दिएको धनुषा–३ मा आफ्नै उम्मेदवार उठाउने बताए ।
ओलीले भने, ‘३ नम्बरबाटै बोलिरहेको छु । कसैलाई भ्रम नहोस्, यस क्षेत्रमा एमाले उठ्छ । एमालेले आफ्नै उम्मेदवार उठाउँछ।’
एमालेसँग पनि साँठगाँठ गरेर फुत्काउन पाइन्छ कि भनेर सोंच्या होला,’ उनले भने, ‘त्यो कुरा हुनेवाला छैन । एमालेले यस क्षेत्रमा आफ्नै उम्मेदवार उठाउँछ ।’
धनुषा क्षेत्र नम्बर ३ बाट लोसपा नेता महतो चुनाव लड्ने तयारीमा छन् भने एमालेले यो क्षेत्रबाट जुलीकुमारी महतोको नाम सिफारिस गरेको छ ।
कार्यक्रममा एमाले सचिव एवं मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठले प्रदेशको कुल ३२ मध्ये १० वटा सिटमा एमाले जित्ने बताएपछि ओलीले महासेठसँग प्रश्न गरे, ‘अरु सिट कसका लागि छाड्ने त ?’ उनले सबैतिर आफ्नै उम्मेदवार उठाउने संकेत गरे ।
एमाले श्रमिक, सुकुम्बासी र भुमिहिन र मधेशीहरुकै पार्टी भएको दाबी गर्दै अध्यक्ष ओलीले एमाले पार्टी मधेशीको पार्टी हो, पहाडिया र हिमाली लगायत आम नेपालीको पार्टी भएको जिकिर समेत गरे ।
“हजारौको संख्यामा मधेशी समुदायका नेता, कार्यकताहरु पार्टीमा हुनुहुन्छ, अन्य पार्टी परित्याग गरि प्रवेश गर्दै हुनुहुन्छ”, उनले भने, “तर पनि केही पार्टी र नेताहरुले एमाले पहाडियाको पार्टी मात्रै हो, त्यसमा मधेशीको स्थान छैन् भन्ने जुन आरोप लगाईरहेको छ त्यो गलत साबित भईसकेको छ ।”
मङ्सिर ४ गते हुने निर्वाचनको तयारीमा जुट्न निर्देशन दिँदै उनले जनताको पक्षमा र देशलाई अन्धकारमय हुनबाट बचाउन एमाले अग्रसर रहेको बताए ।
आगामी निर्वाचन समान्य निर्वाचन नभई मुलुकको भाग्य र भबिष्य निर्धारण गर्ने निर्वाचन भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनबाट एमालेको सरकार नबने मुलुक संकटमा फस्ने दाबी समेत गरे ।
अध्यक्ष ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने सपना एमाले नेतृत्वको सरकारले मात्र पुरा गर्न सक्ने बताउँदै उनले भने, “गठबन्धनले देशलाई पछाडि धकेल्ने काम गरेको छ, नेपालीले देखेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को सपना केबल एमालेले मात्र पुरा गर्न सक्छ ।”
नागरिकता विद्येयकको नाममा गठबन्धन सरकारले भ्रम फैलाउने काम गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता दिने गरी मात्र संसदमा विद्येयक आए आफ्नो पार्टीले सहज रुपमा पारित गर्न दिने स्पष्ट पारे ।
“हामी नागरिकता विद्येयकको नाममा षडयन्त्र, जालझेललाई स्वीकार्दैनौ”,अध्यक्ष ओलीले भने, “हामी भन्छौ अहिलेको नागरिकता विद्येयक फिर्ता लिएर केबल जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिने दुई/चार वटा कुरा मात्र संसदमा ल्याए सहज रुपमा पास गर्छौ, हाम्रो कुनै अबरोध हुँदैन् ।” तर अरु कुरा पनि समेटेर नागरिकता विद्येयक ल्याए हामीलाई स्वीकार्य हुँदैन्, उनको कथन थियो ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी, जसपा, लोसपा लगायतको पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गर्ने नेता कार्यकताहरुलाई आफुहरुले राजनितिक शोषण नगर्ने अध्यक्ष ओलीले आश्वासन दिए।
अध्यक्ष ओलीले धनुषाको क्षेत्र नम्बर २ मा असोज ८ गते भब्य पार्टी प्रवेश कार्यक्रम पुनः हुने र त्यसमा आफुले हजारौं नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने उदघोष समेत गरे ।




