महोत्तरी- बर्दिवासमा चाडपर्व लक्षित बजार अनुगमनमा प्रहरी प्रशासनले १० हजार बराबरको म्याद गुज्रिएका सामान जफत गरि नष्ट गरेको छ । बजारक्षेत्रका ८ वटा खाद्य पसलमा अनुगमन गर्दा म्याद गुज्रिएका तर बिक्रिमै राखिएका खाद्य सामाग्रि अनुगमन टोलीले नियन्त्रणमा लिएको थियो ।

आउँदै गरेको चाडपर्वलाई लक्षित गरि ईलाका प्रशासन कार्यालय बर्दिवासको अगुवाईमा विहिवार बजार अनुगमन गरिएको हो । ईलाका प्रशासनका प्रमुख सन्देश अधिकारीको संयोजकत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय महोत्तरी सहित बर्दिवास नगरपालिका, बर्दिवास उद्योग वाणिज्य संघ, उपभोक्ता संरक्षण मंच, यातायात कार्यालय, नापी कार्यालय,नेपाल प्रहरी र ट्राफिक प्रहरी र पत्रकार सहितको टोलीले बजार अनुगमन गरेको हो ।
विहिबार बर्दिवास बजार क्षेत्रका १७ वटा पसलमा अनुगमन गरिएको ईलाका प्रशासन कार्यालयले जनाएको छ ।

चाडपर्वको समय खाद्य सामाग्रि,यातायात,दुध डेरी, मासु पसलमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन गरिएको ईलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुख सन्देश अधिकारीले जानकारी दिए । बजारमा उपभोक्ताका हित विपरित हुने गरि व्यापारीले मनपरी मुल्यसुचि लगाउने,म्याद गुज्रेका सामान बेच्ने,नियम विपरित पसल संचालन गर्ने जस्ता त्रुटि अनुगमनबाट फेला पारिएको अधिकारीले बताए ।

अनुगमनमा खासै सन्तोषजनक अवस्था नदेखिएकोे राष्ट्रिय उपभोक्ता मंच महोत्तरीका प्रमुख दिपेन्द्र पराजुलीले बताए । बजारमा उपभोक्तालाई ठग्ने,झुक्याउने जस्ता काम व्यापारीले गरेका उनको भनाई छ । यातायात सम्बन्धि ९ वटा पसलमा पनि टोलीले अनुगमन गरेको छ । अधिकांस पसललाई नियमअनुसार संचालन हुन अनुगमन टोलीले सचेत गराएको छ ।

नियमविपरित कार्य गरिरहेका केहि व्यवसायीलाई भने ३५ दिनभित्र व्यवसाय नियमसंम्बत चलाउन चेतावनी दिईएको प्रशासन प्रमुख अधिकारीले बताए । आम जनतालाई झुक्याएर राजस्व छलि गरि ठगी गर्ने जो कोहिलाई दिईएको अवधिमा नसच्चिए कार्वाहि गरिने अधिकारीले बताए ।
अनुगमनबाट म्याद गुज्रिएको १० हजार बराबरको खाद्यान्न जफत गरि विहिबार नै नष्ट गरिएको छ । बजारबाट जफत गरिएको सामाग्रि अनुगमन टोली कै रोहबरमा ईलाका प्रहरी कार्यालय बर्दिवासको परिषरमा नष्ट गरिएको डिएसपी रवि रावलले जानकारी दिए ।




