चाडपर्वको बेला हो । नेपालीले मान्ने तिहार र छठको रौनक गाउँ देखि सहरसम्म बिस्तार हुँदै गएको छ , स्वरुपमा केही परिवर्तन लिएर । तर संयोगवस यसपालिको चाडपर्वमा निर्वाचन एउटा चर्चाको विषय बनेको छ । त्यसअर्थमा पर्व र नेतागिरीको संगम भएको छ । चर्चा गरौ मंसिर-४ को ।
देशमा संघिय र प्रादेशिक निर्वाचन हुन तय भएको मीतिको मंसिर-४ । देशभरका निर्वाचन क्षेत्रमा बिभिन्न राजनीतिक दल र स्वतन्त्रबाट व्यक्तिहरुले मनोनयपत्र दर्ता गराई चुनाब चिन्ह सहित निर्वाचनको महासंग्राम मा आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । नेपाली राजनीतिमा हाबी हुँदै गएको बिबादास्पद गठबंधनको खेलले यसपालिको निर्वाचनमा सिद्धान्त, चुनाबी मुद्दाहरुले खासै महत्व राख्ला जस्तो लाग्दैन । किनभने यो गठबंधनले गर्दा स्थानीय स्तरमा रहेका नेतृत्व ब्लकहरुमा धुँजाधुँजा पारिदिएको छ । स्वतन्त्रको लहर नै चल्ला जस्तो छनक सजिलै महसुस गर्न सकिन्छ । यसै सन्दर्भमा महोत्तरी क्षेत्र नं. ३ पनि चर्चाको केन्द्र बनेको छ ।

चर्चाका बिभिन्न पाटाहरु मध्ये एक हो, गुड मर्निङ्ग । यो शब्द पाठकवर्गलाई ठाडै असान्दर्भिक लाग्न सक्ला । तर अहिले महोत्तरी क्षेत्र नं. ३ (क) प्रदेशसभा उम्मेदवारहरु मध्ये ग्रासरुटमा चर्चा कमाएको नाम हो, गुड मर्निङ्ग । एउटा यस्तो उम्मेदवार जसको नागरिकताको नाम इन्द्रराज प्रशाद सिंह, धेरैले बोलाउने नाम, इन्दल सिंह । र यस क्षेत्रमा कुनै नेतालाई एउटै परिवारका तीन पुस्ताले चिन्छ भन्ने त्यो नाम हो गुड मर्निङ्ग । कुनै जमानामा जतिबेला जलेश्वर (वर्तमानमा महोत्तरी जिल्लाको सदरमुकाम) मा होटेल र लजको अवधारणा थिएन त्यतीबेला इन्दल सिंहले जलेश्वरको मुटुमा लज संचालन गर्थे । र उनको लजको नाम थियो, गुड मर्निङ्ग ।
गुड मर्निङ्गको पहिलो इनिङ्ग
महोत्तरी जिल्लाको जाउख (हाल मनरा शिसबा नगरपालिकाभित्र) गाउँमा जमिन्दार परिवारमा जन्मेका इन्दल सिंह बच्चै देखि राजनीतिक माहोलमा रह्ने मौका पाएका थिए । २०३६ साल तिर नै हो, पंचायत बिरुद्धको आन्दोलनमा सिंह युवा मोर्चा नै सम्हाल्थे । ०३६ साल तिरको घटना हो । जनमतसन्ग्रहको बेला । बहुदलिय व्यवस्थाको पक्षमा देशभरी आन्दोलनको वेग चलेको थियो ।
महोत्तरी जिल्ला जहिले पनि लोकतन्त्रको पक्षमा सहादत दिँदै आएको जिल्ला हो ।
आन्दोलनको अग्रपंतिमा रहेका नेपाली काँगे्रसका मिथिलेश दुबे प्रहरीको गोली लाग्यो मृत्युवरण भए । किशोरसिंह प्रितम गोली लागी घाइने हुँदा इन्दल सिंह झण्डै जोगिएका थिए। आन्दोलनकै क्रममा दर्जनौ पटक जेल परेका सिंह सबैभन्दा लामो एक वर्ष केही महिना लोकतान्त्रीक आन्दोलनको पक्षधर्ता भएको कारण जेल बसे, २०३७ साल तिर ।
इन्दलसिंह जेल बसेको बेला बिमलेन्द्र निधि र रामचन्द्र तिबारीहरु पनि संगै जेलमा थिए । प्रशासन जहिले पनि जनतामुखी हुनुपर्छ भनी मान्यता राख्दै आएका इन्दल सिंह २०४० मा प्रशासनको अर्कमन्यताको बिरुद्ध तत्कालिन जिल्ला प्रहरी कार्यालयमै बिद्रोह गरेका थिए जसको कारण सिंहलाई १५ दिन थुनामा राखिएको थियो । वाक स्वतन्त्रतामा विश्वास राख्दै आएका सिंहले लोकतान्त्री आन्दोलनहरुमा खेलेका अग्रगामी भूमिकाले उनलाई आमजनतामाझ पृथक छाप छोड्न सफल भयो ।
जनतामुखी भएर लोकतन्त्र र बिधिको शासन कायम गर्ने उदेस्यले सधै आन्दोलन मै जबानी होमेका इन्दल सिंहलाई उनि आबद्ध नेपाली काँगे्रसले कहिल्यै मौका दिएन । मौका, अर्थात निर्वाचन लड्ने चान्स समेत दिएन ।
दोस्रो इनिङ्ग
इन्दल सिंह उर्फ गुड मर्निङ्ग आफ्नो दोस्रो इनिङ्गलाई स्मरणगर्दै भन्छन्, नेपाली काँगे्रसको नेतृत्वमा आएको अन्तरिम संबिधानमा देशमा संघिय व्यवस्था हुन्छ भनी नलेखेर मधेशको राजनीतिक मागलाई नजरअन्दाज गरेको जस्तो गर्यो ।
देशमा संबिधान सभाबाट संबिधान जारी हुन्छ भनी हरेक नेपालीले सपना देखे । नेपालमा मधेशी, थारु, मुसलमान, दलित, अल्पसंख्यक लगायत बिभिन्न समुदाय जो बंचितिकरणमा पर्दै आएका थिए उनिहरुले पनि संबिधान सभालाई आफ्नो भाग्यपरिक्षाको रुपमा लिँदै आन्दोलित भइरहेका थिए ।
मधेशमा आन्दोलनको सुर-ताल मिलाउन खोजेको थियो । सदरमुकाम जलेश्वरमा प्रधानमन्त्रीको पुतला दहन गर्ने योजनता तयार भयो । प्रशासनको मनोविज्ञान दमनकारी देखिइएको थियो । र बिभिन्न गन्थनमन्थन पश्चात उही इन्दल सिंहले जलेश्वरको मुटुकोरुपमा अवस्थित तत्कालिन महेन्द्र चौकमा प्रधानमन्त्रीको पुतला दहन गरे । र यस घटनाको मिडिया कभरेजले आन्दोलनकारीहरुमा थप उर्जा मात्र प्रवाह गरेन, सिंहको राजनीतिक जीवनले फेरी आन्दोलन र बिद्रोहको पथ समात्यो । तत्कालिन मधेशी जनअधिकार फोरममा आबद्ध हुँदै पहिलो र तराई मधेश लोकतान्त्रीक पार्टीमा आबद्ध भई दोस्रो मधेश आन्दोलनमा अग्रणी भूमिका खेले । पहिलो र दोस्रो संबिधानसभाको निर्वाचनको बेला पाखा लगाइएका सिंह अनवरत आन्दोलन मै रहे ।
तमलोपाको पार्टी कार्यालय संचालन गर्न सिंहले व्यक्तिगत हैसियतमा सहयोग गरे । संबिधान सभाको निर्वाचन पश्चात मन्त्री र सन्त्री बन्नका लागि तछाडमछाड गर्ने तमलोपा र अन्य मधेशवादी दलको अवस्था दलदलमा फसेको एउटा असहाय जिब जस्तो अनुभूती हुन्थ्यो, इन्दल सिंहलाई । बेबाक स्वभावका धनीका रुपमा परिचित सिंह पछिल्लो डेढ दशकदेखि मधेश केन्द्रित राजनीतिमा आफ्नो क्षमता प्रदर्शन गरिरहे तर उनलाई चुनाब लड्न जाबो एउटा टिकट दिएन उनि आबद्ध पार्टी र नेताहरुले । २०७४ को निर्वाचनदेखि सिंह स्वतन्त्र जस्तै रह्न थाले । उनि भन्छन, मधेश केन्द्रित दलमा उर्जा लगाउनु भनेको मरुभूमीमा केही थोपा पानी हाल्नु सरह हो ।

यसको कारण बारे खुलाउँदै सिंह भन्छन्, सत्ता र भत्ताको लागि मरिहत्ते गर्ने मधेशवादी नेताहरुले मधेश प्रदेशमा सरकार संचालन गर्दा साबिक को जिल्ला विकाश समिति भन्दा पनि कमजोर प्रदर्शन गर्यो । टुक्रे योजनाहरु संचालन गरेर कमिशनतन्त्रलाई मात्र बढाबा दियो मधेश प्रदेश सरकारले । मधेश आन्दोलनको बेला कसैको हत्या भयो भन्ने पच्चास लाख नगद दिने भनी आफुलाई बरिस्ठ भन्ने नेताहरुले हत्याको राजनीतिलाई मात्रै प्रोत्साहन गरेको देखियो । सहिदको परिवार अझैपनि बिच्चलीमा जीवन यापन गर्न बाध्य छन् तर त्यस्तालाई कहिले हेरेर मधेश प्रदेश सरकारले ।
महोत्तरी जिला अहिले पनि शिक्षा, स्वास्थ्य, कृषि जस्ता आधारभूत क्षेत्रमा सिन्को भाँच्न सकेको छैन । भारतको सिमासँग जोडिएका महोत्तरी क्षेत्र नं. ३ का जनता बिहारमा भइरहेको विकाश र जनताले पाईरहेको सुबिधा हेरेर लोभ मात्र गर्न बाध्यछन् । तर यस क्षेत्रबाट निर्वाचित भएर जाने प्रतिनिधि सभा सदस्य होउन या प्रदेशसभा सदस्य, सबैले लामो कुर्ताको प्रदर्शन मात्रै गरेको छ । गरिव वर्गको जीवनलाई सहज बनाउन शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा लगानी गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गराउन असमर्थ छन् ।
यस्तै व्यथितीहरु बिरुद्ध ७६ वर्षको उमेरमा इन्दल सिंह प्रदेश सभा सदस्यका लागि हुनगइरहेको निर्वाचनमा आफ्नो मनोनय पत्र दर्ता गराई उनले पाएका “कर्क छाप” सहित चुनाबी मैदानमा व्यस्त देखिन्छन । आफ्नो निर्वाचन क्षेत्रमा उनी बढ्दै गइरहेको भ्रष्टाचारी बिरुद्ध चुनाब लड्दै छु भन्दै खट्दै गरेको देखिन्छन । आम जनता र सिंहको सम्बन्धले कस्तो निचोड दिन्छ त्यो समयले देखाउने हो ।
शिरीषसँग सम्वादमा आधारित




