जनकपुरधाम- मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया पेचिलो देखिएको छ ।
प्रत्यक्ष निर्वाचित ६४ र समानुपातिकतर्फ ४३ गरी कुल १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार निर्माणका लागि ५४ जना सांसद हुँदा बहुमत पुग्छ ।
मधेसमा कांग्रेस, लोसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रहरू मिल्दा प्रदेशसभा सदस्यहरूको संख्या ५४ हुन्छ ।
प्रदेशसभामा नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा बसे पनि सरकार बन्ने अवस्था देखिन्छ भने एमाले, जसपा र जनमतले पनि स्वतन्त्र उम्मेदवारलाई समेटेर आफ्नो नेतृत्वमा सरकार बनाउन सक्ने सम्भावना पनि बलियाे नै रहेको छ ।
सरकार जसको बने पनि मुख्यमन्त्रीको विषय भने पेचिलो देखिन्छ । मुख्यमन्त्रीको पद कुन दलले पाउने भन्ने विषय कठिन छ । अहिले यहाँ प्रायः सबै दलले मुख्यमन्त्रीको लागि दाबी गरिरहेका छन् ।
कांग्रेसले मधेस प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीबाट हुने जनाएको छ । यसअघि जसपाले पाँच वर्ष चलाइसकेको छ । अब प्रदेशको मुख्यमन्त्री कांग्रेसबाट हुन्छ’, प्रदेश सभापति कृष्ण यादवले भने, ‘यहाँ कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ ।’
कांग्रेसभित्र अहिले कृष्णसहित करिब आधा दर्जन व्यक्ति मुख्यमन्त्रीको लबिङमा छन् । रौतहटबाट निर्वाचित कृष्ण यादव, सर्लाहीबाट निर्वाचित बीरेन्द्र प्रसाद सिंह र धनुषाबाट निर्वाचित रामसरोज यादव मुख्यमन्त्रीको लबिङमा छन् । यीमध्ये कृष्णको सम्भावना रहेको बताइन्छ ।
‘मधेस प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउँछ । यहाँको मुख्यमन्त्री कृष्ण नै बन्ने सम्भावना अधिक छ’, कांग्रेस स्रोतले भन्यो ।
यता माओवादी केन्द्र पनि मुख्यमन्त्रीका लागि उत्साहित छ । ‘यस विषयमा पहिले केन्द्रमा छलफल हुन्छ’, माओवादी प्रदेश इन्चार्ज गणेश साह भन्छन्, ‘प्रदेशको मुख्यमन्त्रीको विषय केन्द्रबाट टुङ्गिन्छ ।’
यता लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ ।
‘हाम्रो सशक्त दाबी छ’, लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले भने, ‘यस पटक मधेस प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्ने सम्भावना छ ।’
मंसिर ४ गते सम्पन्न निर्वाचनबाट यस प्रदेशमा नेकपा एमालेले प्रत्यक्षमा १५ र समानुपातिकमा ८ गरी कुल २३, नेपाली कांग्रेसले प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी कुल २२, जनता समाजवादी पार्टीले प्रत्यक्षमा ९ र समानुपातिकमा ६ गरी १५ तथा जनमत पार्टीले प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी कुल १३ सिट पाएका छन् ।
त्यस्तै, लोसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी ९, नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी ८ र नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी कुल ७ सिट पाएका हुन् ।
यता, राप्रपाले समानुपातिकमा २, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले १/१ सिट पाउँदा ६ जना स्वतन्त्र उम्मेदवारहरू प्रत्यक्ष निर्वाचित भएका छन् ।
यसअघि २०७४ को निर्वाचनमा प्रदेशसभामा तत्कालीन संघीय समाजवादी फोरम २९ सिटसहित पहिलो दल बन्दा राष्ट्रिय जनता पार्टी २५ सिटसहित दोस्रो र नेकपा एमाले २३ सिटसहित तेस्रो दल बनेको थियो ।-फरकधारबाट