पर्सा — पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रदेश सांसदको घरलाई सेल्टर बनाएर वन्यजन्तुको चोरी सिकारी भइरहेको पाइएको छ । अघिल्लो साता निकुञ्ज टोलीले पर्सा क्षेत्र नम्बर ३(१) का प्रदेश सांसद प्रमोदकुमार जैसवालको घरबाट मृत जरायोको सिंहसहितको टाउको र हातहतियारसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।
पुस ४ गते राति निकुञ्जको नियमित गस्ती गर्नेक्रममा सांसद जैसवालको नाममा रहेको प्रदेश २ ०३००१ च ३०९७ नम्बरको सेतो बोलेर गाडी चोरीतस्करीमा प्रयोग भएको पाइएको थियो ।
निकुञ्ज अन्तर्गतको चौरभेया रेन्जपोस्ट र नेपाली आर्मीको संयुक्त गस्ती टोलीले कोर क्षेत्रमा पर्ने जमुनिया खोलामा गोली चलेको आवाज सुनेको थियो । त्यसपछि गस्ती टोली गोली चलेको तर्फ हिँडेरै गयो । त्यहीक्रममा कुदिरहेको बोलेरो गाडीबाट गस्ती टोलीमाथि गोली प्रहार भएको पर्सा निकुञ्जका वार्डेन अशोक रामले बताए । उनका अनुसार सेनाको टोलीले जवाफी फायर गर्दा उक्त गाडीको टायरमा गोली लागेको थियो ।
गाडीलाई पिछा गर्नेक्रममा गस्ती टोलीले उक्त गाडी अकुनिया गाउँमा पङ्चर भएको अवस्थामा मृत जरायोसहित फेला पारेको थियो । गस्तीका क्रममा तस्करहरु निकुञ्जको आडैमा रहेको प्रदेश सांसद प्रदीप जैसवालको घरबाट पक्राउ परेको संरक्षण अधिकृत रामले जानकारी दिए ।

‘एउटा घरलाई सेल्टर बनाएर संगठित रुपमा चोरीशिकारी गर्ने किसिमले बन्दोबस्तीका सामान र हतियारसहित बसेको पाइयो,’ रामले कान्तिपुरसित भने, ‘उक्त घरबाट जरायोको सिंहसहितको टाउको र हातहतियार फेला पार्यौं ।’
निकुञ्जको सुरक्षा टोलीले सुखवा पुर्सौनी गाउँपालिका–१ का ३७ वर्षीय झापस दास थारु, ४४ वर्षीय नवराज बस्नेत, ४६ वर्षीय विशाल सहनी, काभ्रे साँगा–६का ५ वर्षीय दामोदार अधिकारी, धादिङ गंगाजमुना गाउपालिकाका २ का करिब ५२ वर्षीय म्लाङ डोङ तामाङलाई नियन्त्रणमा लिएको हो ।
निकुञ्जका अवनुसार पक्राउ परेका लक्षमण सहनी भन्ने विशाल सहनी यअसघि गााजा तस्करमा कारबाही भोगेको व्यक्ति हुन् भने अधिकारी नेपाली सेनाका पूर्व सिपाही/हवल्दार हुन् ।
उक्त घटनामा संलग्न उपेन्द्र यादव, कुमार तामाङ र विकास सहनी फरार रहेको निकुञ्जले जनाएको छ । यादव वन्यजन्तु चोरी तस्करीको कारोबारी रहेको र विशाल सहनी सार्प सुटर रहेको रामले जानकारी दिए । उक्त घटनामा दिपक बस्नेत भन्ने व्यक्ति पनि फरार रहेको निकुञ्जका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
निकुञ्जको टोलीले काठमाडौं–१७ घर भएका सञ्जिव शाहीको नाममा रहेको बा ५ ख ७८०५ नम्बरको ल्यान्ड क्रुजर गाडी एक थान, दुईवटा जरायो, १२ बोर नाल १ वटा, नाइट भिजन राइफल स्कोप, ९ थान गोली, टर्च लाइट, बन्दुक राख्ने २ वटा झेला, २ थान आईफोन, मोबाइल फोनलगायतका सामग्रीहरु बरामद गरेको छ । संरक्षण अधिकृत रामले भने, ‘घटनाको प्रकृति हेर्दा, एउटा घरलाई सेल्टर बनाएर वन्यजन्तुको चोरीशिकारी संगठित रुपमा भइरहेको देखिन्छ । बरामद गरिएका सामग्रीहरु पनि त्यही पुष्टि गर्छन् ।’ सिकारी टोलीले ड्रोनको समेत प्रयोग गर्ने गरेको पाइएको छ । पुस ३ गते पनि जंगलबाट जरायो मारेर सांसद जैसवालको घरमा लगिएको र मासु भागलगाएर तस्करी गर्न गाडीमा पठाइएको स्रोतले जनायो । गस्ती टोलीले त्यही जरायोको टाउको घरमा फेला पारेको थियो ।
तीन वर्षअघि पनि निकुञ्ज क्षेत्रमा तस्कर र सुरक्षाकर्मीबीच गोलीहानाहान हुँदा एक जना तस्करको मृत्यु भएको थियो यस्तै सेनाका एक जना जमदार घाइते भएका थिए । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.महेश्वर ढकालले यो घटना गम्भीर प्रकृतिको भएकाले संलग्न कसैलाई नछाड्ने बताए । उनले भने, ‘यो गम्भीर किसिमको संगठनिक रुपमा गरिएको अपराध जस्तो देखिन्छ । छानबिन भइरहेको छ, छानबिनबाट जे आउँछ त्यसको आधारमा प्रचलित कानुनको आधारमा हदैसम्मको कारबाही गर्न निकुञ्ज प्रतिबद्ध छ । ’
यसैबीच सांसद प्रमोद जैसवालले घटना भएको घरमा आफू नबस्ने र स्थानीयलाई रेखदेख गर्ने जिम्मा दिएको बताए । उनका अनुसार स्थानीय प्रकास केसीलाई घर हेर्ने जिम्मा दिएको बताए । उनले उक्त घटनामा आफ्नो कुनै संलग्नता नभएको बताउँदै अनुसन्धानमा सघाउने प्रतिक्रिया दिएका छन् । उनले बोलेरो गाडी आफन्तलाई बेचेको दाबीसमेत गरे । उनले स्वतन्त्र सांसदको रुपमा निर्वाचित हुनुअघि र निर्वाचित भएपछि आफूमाथि विभिन्न खालका षड्यन्त्र र घेराबन्दी भइरहेको दाबी गरे । यस्तै, उनले पक्राउ परेका व्यक्ति तथा तस्करीको विषयमा भने अनुसन्धानपछि मात्रै भन्न सकिने उल्लेख गरेका छन् ।
निकुञ्जको टोलीले घरबाट जरायोको टाउको र अवैध हातहतियार बरामद गरेपछि सांसद जैसवाल सम्पर्कविहीन भएका थिए । उनले प्रयोग गर्दै आएको मोबाइल समेत नलाग्ने बनाएका थिए । कान्तिपुरले सांसद जैसवाललाई घटनासँग सम्बन्धित समाचारको विषयमा कुरा गर्नुपर्ने छ भन्ने म्यासेज पठाएपछि मात्र सम्पर्कमा आएका थिए । निकुञ्ज कार्यालयले बरामद भएको गाडी र घटना घटेको घर सांसद जैसवालको खुलेको पछि उनीसँग बयान लिने तयारी गरेको छ । वार्डेन रामका अनुसार कानुनी प्रक्रिया पूरा गरेर सांसद जैसवाललाई पत्र काट्ने तयारी भइरहेको बताए ।
(तस्बिरहरुः पर्सा राष्ट्रिय निकुञ्जको कार्यालय)




