जनकपुरधाम- गत माघ १ गते यती एअरलाइन्सको विमान दुर्घटनामा परी निधन भएकाहरुको १३औं दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाद्वारा आयोजित श्रद्धाञ्जली कार्यक्रममा दुर्घटनामा परी निधन भएका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीलगायत अन्य सम्पूर्ण मृतकहरुप्रति श्रद्धाञ्जली अपर्ण गरिएको हो ।
पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस सेन्टर नेपालका उपाध्यक्ष थिए भने शाही पोखरा महानगर समितिका सदस्य थिए ।
कार्यक्रममा बोल्दै वक्ताहरुले पत्रकार पौडेल सबैको प्रिय र सार्वजनिक व्यक्तित्व भएकाले उनको सकारात्मक पक्षलाई अनुकरण गर्नुपर्नेमा जोड दिए ।

पत्रकारद्वय पौडेल र शाहीप्रति पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झा, निवर्तमान अध्यक्ष अनिल मिश्र, उपाध्यक्ष अवधेश कामत, सचिव बटुकनाथ झा, प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष किरण कर्ण, पत्रकारहरु पुरन साह, नित्यानन्द मण्डल, राजकमल सिंह, दिपक कर्ण, जयन्त ठाकुर, चान्दनी झा, संजय साह, रोहित महतो लगायतकाले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यसैगरी पत्रकार महासंघ महोत्तरी शाखाले पनि वर्दिवास चोकमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी दुर्घटनामा परी निधन भएका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाही लगायत अन्य सम्पूर्ण मृतकहरुप्रति श्रद्धाञ्जली अपर्ण गरेका हुन् ।




