महोत्तरी- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल राष्ट्रिय पार्टी बन्न नसक्नुको मूल कारण समानुपातिक सांसद चुन्ने पक्रिया रहेको बताएका छन् ।
गृह जिल्ला पुगेका भण्डारीले लोसपाले पछिल्लो निर्वाचनभन्दा कमजोर प्रदर्शन गरेपनि राष्ट्रिय दल बन्न सक्ने क्षमता हुँदाहुँदै पनि त्यस्तो नसकेकोमा दुःख व्यक्त गरेका हुन् ।
समानुपातिक सांसद चुन्ने प्रक्रियाका कारण लोसपा राष्ट्रिय दल बन्न नसकेकोमा मन्त्री भण्डारीले चिन्ता व्यक्त गरे ।
मन्त्रालयको कार्यभार सम्हालेपछि पहिलो पटक गृहजिल्ला पुगेका मन्त्री भण्डारीले पछिल्लो निर्वाचनमा लोसपाभन्दा कमजोर प्रदर्शन गरेको दलपनि राष्ट्रिय बनेको तर प्रत्यक्षमा चार सीट जितेर पनि लोसपा समानुपातिक सांसद चुन्ने प्रक्रियाका कारण राष्ट्रिय दल बन्न नसकेको बताए ।
लोसपाले अबको ४ वर्षपछि हुने निर्वाचनमा राम्रो नतिजा ल्याउने दावी गर्दै मन्त्री भण्डारीले अहिलेदेखि नै त्यसको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
उनले वैदैशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउनकालागि लुकीछिपी काम गर्दै आएका नेपालीहरुलाई पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाउन लागिएको बताए ।
प्रदेशमै वैदेशिक रोजगारीमा जानेहरुका लागि सीप, भिसा उपलब्ध गराउनुका साथै विदेशबाट फर्किएकाहरुका लागिसमेत उचित व्यवस्था मिलाइने उनले जानकारी दिए ।
मन्त्री भण्डारीले सोनामाई, रौजा मजार, कारिकबाबा स्थान, लक्ष्मीनारायण मठमा पुगेर पुजाअर्चना समेत गरेका छन् ।




