जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका एक वडाध्यक्ष र वडासचिवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले वडा नम्बर-११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार राय माथि भ्रष्टाचार गरेको भन्दै शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
वडाध्यक्ष चौधरी र वडासचिव रायले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग ५० हजार घुस सहित नियन्त्रणमा लिएको थियो । उनिहरुले घुस माग गरिरहेको सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटेको टोलीले दुबैजनालाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत चैत ८ गते जनकपुरधामको एक होटलबाट नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा वडाध्यक्ष चौधरी र सोही वडाका वडासचिव रायको आपसी योजना तथा मिलोमतोमा जग्गा दर्ता नामसारी गर्ने प्रक्रियामा सर्जमिन मुचुल्काको रोहवरमा सहिछाप गर्नका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएकोले अख्तियारका प्रवक्ता भोला दाहालले बताए।
दुबैजनाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा उनीहरुलाई ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) वमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।




