सन्तोष सिंह
धनुषा — भूमिसुधार तथा मालपोत कार्यालय धनुषाले एउटै जग्गाको दुई लालपुर्जा जारी गरेको खुलेको छ । जनकपुरधाम उपमहानगरपालिका–७ को सिट नं. १३५४२३ को कित्ता नं. ७४ को लालपुर्जा जनकपुरधाम–८ का रामनाथ राय र महोत्तरी गाउँपालिका–२ भ्रमरपुराका रामसोगारथ राउत भूमिहारको नाममा लालपुर्जा जारी गरेको पाइएको छ । नापी कार्यालयले दिएको हालसाविक सिफारिसका आधारमा मालपोत कार्यालयले एउटै जग्गाको दुई फरक व्यक्तिका नाममा जग्गाधनीपुर्जा जारी गरेको हो ।
मालपोत र नापी कार्यालयका ११ जना कर्मचारीको मिलेमतोमा आर्थिक लाभ लिएर एउटै जग्गाको दुई लालपुर्जा जारी गरिएको मालपोतकै कर्मचारीको आरोप छ । ४ का जग्गा पटक–पटक बिक्री गरी बाँकी रहेको १ का १० धुर जग्गाको दुई फरक व्यक्तिको नाममा लालपुर्जा जारी गरिएको हो ।
०७८ पुस २० गते जग्गा हालसाविक गरी नयाँ नापीबमोजिम जग्गाधनी दर्ता प्रमाणपुर्जा लिएका जनकपुरधाम–८ का रामनाथ रायले २०४९ फागुन ११ गते महोत्तरी गाउँपालिका–२ भ्रमरपुराका रामसोगारथ राउत भुमिहारलाई बेचेर रजिस्ट्रेसन गरेका थिए ।
नापी कार्यालय धनुषाका प्रमुख, मालपोत कार्यालयका प्रमुख र दुवै कार्यालयका कर्मचारीले आर्थिक लाभ लिने उद्देश्यले रायलाई बेचिसकिएको जग्गाको पुनः नापजाँच गरी हालसाविक कायम गरेर जग्गाधनी दर्ता प्रमाण पुर्जा बनाइदिएको आरोप छ। भुमिहारको नाममा रहेको करिब ३ करोड मूल्य पर्ने जग्गाको धनीपुर्जा पाउनासाथ मालपोत र नापीकै कर्मचारीको सल्लाहमा रायले सेन्ट्रल फाइनान्सबाट ४० लाख कर्जा लिएको पाइएको छ ।
हालसाविक गरी नयाँ जग्गाधनी पुर्जा बनाउन लागेको खर्च कर्मचारीलाई चुक्ता गर्न रायले कर्जा लिएर दिएको मालपोत कर्मचारी स्रोतले बतायो । एउटै कित्ता जग्गाको दर्ता प्रमाण पुर्जामा क्षेत्रफल पनि फरक–फरक छ । रायको प्रमाणपत्रमा जग्गाको क्षेत्रफल ०–१–११–२.५ छ भने भूमिहारको पुर्जामा ०–१–१०–३ क्षेत्रफल उल्लेख छ । आर्थिक लेनदेन गरी एउटै जग्गाको दुईवटा जग्गाधनी पुर्जा बनाएको घटना सार्वजनिक भएपछि नापी कार्यालय धनुषा र भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीले एक–अर्कामाथि आरोप लगाइरहेका छन् ।
एउटै जग्गाको दुई पुर्जा जारी भएको घटना सार्वजनिक भएपछि नापी कार्यालयका प्रमुख सुमन मिश्रले हालसाविक रद्द गर्न कर्मचारीलाई दबाब दिन थालेका छन् । भूलवश हालसाविक भएको र हालसाविक लिनेको हस्ताक्षर परीक्षणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको मिश्रले बताए । आर्थिक लेनदेन गरी दोहोरो पुर्जा जारी गर्न सिफारिस गरेको आरोप निराधार रहेको उनले दाबी गरे । भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख तैयव राइनले कर्मचारीले गल्ती नगरेको र पछि जारी गरिएको हालसाविक रद्द गर्न पहल गरिरहेको बताए ।
उच्च अदालतको आदेश कार्यान्वयन भएन
उच्च अदालत जनकपुरले फैसला गरे पनि मालपोत कार्यालय धनुषाले जग्गाधनीमा नाम दर्ता गरी लालपुर्जा (जग्गाधनी प्रमाणपत्र) दिन आनाकानी गरेको छ । सरयुगवती कायस्तनीको नाममा रहेको जनकपुरधाम उपमहानगरपालिका–१४ सिट नं. १३१५–०४ कित्ता नं. ५९ को एकका १६ धुर जग्गा जालसाजी गरेर सुरजदेवीले फर्जी मोही कायम गराई जनकपुरधाम–१३ का पूर्ववडाध्यक्ष शुभनारायण मण्डललाई बिक्री गरेकाले उच्च अदालतले उनीहरूको हकदाबी बदर गरी जग्गाधनी प्रमाणपत्रपुर्जा विनोदकुमार कर्ण, प्रमोदकुमार लाल कर्णको नाममा उपलब्ध गराउन आदेश दिए पनि मालपोत कार्यालय प्रमुखले आलटाल गर्दै आएका छन् ।
जिल्ला अदालत धनुषाले सुरजदेवीका पक्षमा फैसला गरेपछि विनोदलाल कर्णले उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्च अदालतले जिल्लाको फैसला उल्टाउँदै मालपोत कार्यालय र गुठी संस्थान जनकपुरले गरेको निर्णय तथा विपक्षीले गरेको मिलापत्रसमेत बदर गरिसकेको अवस्थामा मालपोत कार्यालय प्रमुख तैयव राइनले आलटाल गरिरहेका छन् । उच्च अदालतले जिल्लाको फैसला उल्टाउँदै गुठी संस्थान धनुषाले २०७१ असार १ मा र मालपोत कार्यालय धनुषाले २०७१ माघ २६ मा गरेको निर्णय बदर गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका–१० बस्ने विनोदलाल कर्णसमेत वादी र गुठी संस्थान शाखा कार्यालय जनकपुर राम मन्दिरसमेत प्रतिवादी रहेको मुद्दा फैसला कार्यान्वयन गर्न धनुषा जिल्ला अदालतले २०८० वैशाख ६ गते पठाएको पत्र मालपोतले दर्ता गर्न मानेको छैन । अदालतको पत्र दर्ता गरी दूषित टिप्पणी आदेश लिखत, मिलापत्र दर्ता बदर गरी दर्ता कायम मुद्दामा धनुषा जिल्ला अदालतले वादी दाबी नपुग्ने भनेर गरेको फैसला उल्टी गरी उच्च अदालत जनकपुरले वादी दाबी पुग्ने भनी गरेको फैसला कार्यान्वयन गर्न मालपोत प्रमुख राइनले आलटाल गरेको उनीहरूको आरोप छ ।




