लामो समयदेखि हिंशा भइरहेको भारतको मणिपुर राज्यमा दुई महिलालाई नाङ्गै घुमाइएको भिडिओ अहिले भाइरल भएको छ । यो भिडिओका कारण भारतभर नै तरंग उत्पन्न भएको छ ।
मणिपुरमा मैतेई र कुकी समुदायबीच झण्डै दुई महिनायता झडप भइरहेको छ । राज्यमा हिंसा जारी नै रहँदा बुधबार सार्वजनिक भएको भिडिओले भारतको राजनीतिमा हलचल नै मच्चाएको छ ।
भिडिओमा कुकी समुदायका दुई महिलालाई हतियार बोकेका २०/२५ जना युवाको समुहले नाङ्गै घुमाइरहेको देखिन्छ । नाङ्गै परेड खेलाउने क्रममा युवा समूहले महिलाका गोप्य अंग चलाइरहेको समेत देखिन्छ । दुवै महिला निकै डराएका छन् ।
उक्त भिडिओ मे ४ तारिखको भएको बताइएको छ । दंगा सुरु भएको दोस्रो दिन नै उक्त कुकर्म भएको थियो । तर, अहिले भिडिओ सार्वजनिक भएको हो । भिडिओमा देखिने महिला एकजना २१ र अर्को ४२ वर्षका रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
केही सञ्चारमाध्यमले पीडित महिलासँग गरेको कुराकानीमा आफूहरूलाई कपडा नखोले तत्कालै मार्ने धम्की दिइएको बताएका छन् । सँगै नियन्त्रणमा लिएका दुईजना कुकी पुरुषलाई नजिकै खेतमा हत्या गरेपछि महिलालाई कपडा खोल्न लगाएर नाङ्गै घुमाइएको थियो ।
भिडिओ हेरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो हृदय पीडाले भरिएको बताएका छन् । संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री मोदीले यो घटनाले देशकै बेइज्जत गरेको भन्दै दोषीलाई कडा कारबाही गर्ने बताएका छन् ।
मणिपुरमा हिंसा सुरु भएयता प्रधानमन्त्री मोदीले पहिलोपटक त्यसबारे प्रतिक्रिया दिएका हुन् । विपक्षी दलले भने यो घटनालाई लिएर सरकारको आलोचना गरेका छन् ।
मणिपुर प्रहरीले यो घटनामा अपहरण, सामूहिक बलात्कार र हत्याको मामिलामा अज्ञात समूहविरुद्ध उजुरी दर्ता गरिएको जनाएको छ । मणिपुरका मुख्यमन्त्री वीरेन सिंहले दोषिलाई फाँसीको सजाय दिलाउन प्रयास गर्ने बताएका छन् ।
घटनामा संलग्नमध्ये अहिलेसम्म एकजना पक्राउ परेका छन् । भारतको सर्वोच्च अदालतले पनि यसमा चासो राख्दै स्वतस्जानकारीमा लिएको जनाएको छ । पूरै घटनाबारे २८ जुलाईमा सुनुवाइ हुने तय गरिएको बीबीसीले जनाएको छ ।




