काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुन: नेकपा (एमाले) मा फर्किने चर्चा छ । एमाले उपाध्यक्ष हुँदै राष्ट्रपति बनेकी विद्या एमाले फर्किऊन् भन्ने चाहन्छन् केही एमाले नेताहरू ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायतका ‘निर्णायक’ नेताहरू विद्या एमाले फर्किनैपर्ने मान्यता राख्छन्।
तर, स्वयम् अध्यक्ष केपी शर्मा ओली भने यो मान्यताबाट टाढा छन् । ‘विद्या एमालेमा फर्किँदैछन् ?’ भन्ने प्रश्नमा उनले भन्ने गरेका छन्— यस्ता हल्लाहरूलाई मलजल नगर्नु, कतिपय हल्लाहरू नबुझेर गरिन्छ । यस्तो गर्नु उचित हुँदैन ।
त्यसो त ओलीलाई विद्या एमाले फर्किए स्वाभाविकरूपमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको दाबेदार हुन्छन् भन्ने थाहा छ । त्यसैले पनि उनले विद्या एमाले पुन: फर्किऊन् भन्ने नचाहने एक राजनीतिक विश्लेषकको विश्लेषण छ । नाम उल्लेख नगर्ने सर्तमा ती विश्लेषकले नेपालभ्यूजसँग भने— अनेकानेक खेल हुन्छन्, जुन ओलीजी राम्रोसँग बुझ्नुहुन्छ, खेल्नुहुन्छ । उहाँ स्वाभाविकरूपमा विद्या भण्डारी पुन: पार्टीमा सक्रिय होऊन् भन्ने चाहनुहुन्न ।
जसै विद्या एमालेमा शक्ति केन्द्रकै रूपमा चिनिन्छिन् । राष्ट्रपति हुँदा पनि एमालेभित्र सक्रिय भएको भन्दै उनको तीव्र आलोचना हुने गरेको थियो । त्यसबेलै पनि उनकै प्रभाव र दबाबमा मुख्यमन्त्रीदेखि सङ्घीय मन्त्रीहरू नियुक्त हुने गरेका थिए ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारीपत्नीसमेत रहेकी विद्या जनताको बहुदलीय जनवाद (जबज) की पारिवारिक ‘उत्तराधिकारी’समेत हुन् । जबजका कट्टर समर्थकहरू भने विद्या पार्टीमा सक्रिय हुनैपर्ने पक्षमा छन् । यसबीचमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले त विद्यालाई भेटेरै पार्टीमा सक्रिय हुन आग्रह गरेका छन् ।
विद्या भने पार्टीमा सक्रिय हुनेबारे निर्णय लिइनसकेको बताउँछिन् । तर पनि पार्टीमा सक्रिय हुने वा नहुने भन्ने सन्दर्भमा फिफ्टी-फिफ्टीको सम्भावना रहेको बताउँछिन् ।
केही दिनअगाडि दिएको एक अन्तर्वार्ताका क्रममा उनले भनेकी छन्— म पार्टीमा पुन: सक्रिय हुन्छु भनेर त धारणा बनाइसकेको छैन । तर, सम्भावनाको ढोका बन्द भएकोचाहिँ होइन । एमालेका नेता/साथीहरूले मलाई फर्किनुपर्छ भनेर भनिरहनुभएकै छ । जे पनि हुनसक्छ ।
त्यसो त ओली भने यसमा सकारात्मक देखिँदैनन् । पार्टीमा लगाएको ७० वर्षे उमेरहद हटाएर तेस्रो कार्यकाल हुँदै मृत्युपर्यन्त अध्यक्ष हुने रणनीति अपनाएका ओलीलाई विद्या पार्टीमा सक्रिय हुनु भनेको आफूलाई चुनौतीका रूपमा बुझेको विश्लेषणहरू भइरहेका छन् ।
“विद्या भण्डारी पार्टीमा सक्रिय हुँदा आफ्नो रणनीति फेल हुने उहाँलाई राम्रो थाहा छ,” ती विश्लेषक भन्छन् ।
विद्यानिकट नेताहरू भने ७० वर्षे उमेरहद हटाएर विद्यालाई अध्यक्ष हुन नदिने तयारी गरिएको रूपमा बुझेका छन् । विद्यानिकट मानिने एक पदाधिकारी भन्छन्, “पार्टीभित्र विभिन्न गतिविधि हुनसक्छ । त्यसमा कतिपय गतिविधिहरूले पार्टीलाई कमजोर बनाउनेखाले पनि भएका छन् । खासगरी नेतृत्वबाटै यस्तो कदम भयो भने त्यो निकै प्रत्यूत्पादक हुन्छ ।”
माधवकुमार नेपाल, झलनाथ खनाललगायतका प्रभावशाली नेताहरूलाई पाखा लगाएका सी जिनपिङको शैलीमा ‘सदाबहार’ अध्यक्ष बन्न खोजेका ओलीका लागि विद्या पार्टीमा सक्रिय हुँदा चुनौती भने पक्कै हो ।




