काठमाडौं- संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकविरुद्ध देशभरका विद्यालय ठप्प पारेर शिक्षकहरु आन्दोलनका लागि काठमाडौं आएका छन् । उनीहरुले बुधबार काठमाडौंको माइतीघरमा भेला भएर विधेयकका कतिपय प्रावधान संशोधन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।
नेपाल शिक्षक महासंघको आह्वानमा आन्दोलनका लागि देशभरबाट शिक्षकहरु काठमाडौं आएका हुन् ।
विगतको सहमति अनुसार विधेयक नआएको भन्दै महासंघले विधेयकका दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माग गरेर आन्दोलन थालेको हो ।

संसदमा दर्ता भएको विधेयक अनुसार शिक्षकले प्रधानाध्यापक र व्यवस्थापन समितिले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्नुपर्ने व्यवस्था संशोधन गर्नुपर्ने माग महासंघले गरेको छ ।

शिक्षक महासंघले अस्थायी प्रकृतिका शिक्षकहरु राहत, साविक उमावि, अस्थायी करार, शिक्षक सिकाए अनुदान, विशेष शिक्षा, प्राविधिक धार लगायतका शिक्षकहरुको लागि आन्तरिक परीक्षाबाट स्थायी हुनुपर्ने, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गरी स्थायी प्रकृयामा लानुपर्ने, निवृत्तिभरण तथा पेन्सनको लागि अस्थायी सेवा अवधिको पनि गणना हुनुपर्ने, प्रधानाध्यापकको नियुक्ति शिक्षक सेवा आयोगबाट हुनुपर्ने, ट्रेड युनियनको अधिकार हुनुपर्ने लगायतको १७ बुँदे माग राख्दै आन्दोलन गर्ने घोषणा गरेको छ ।

सरकारले शिक्षकलाई वार्तामा बोलाएको छ । तर सरकारले बोलाएको वार्ता अस्वीकार गरी शिक्षक आन्दोलनमा उत्रिएका छन्।







