
हुनत इजरायल र प्यालेस्टाइनबीचको युद्ध कुनै नयाँ कुरा होइन । विगतको तथ्यांकले पनि के बताउँछ भने जब-जब हमास समूहले इजरायलमा आक्रमण गर्दछ तब इजरायली प्रत्याकक्रणमा उसले नै धेरै क्षति व्यहोर्नु पर्दछ ।
यो युद्धमा वास्तवमा इजरायल, प्यालेस्टाइन र हमास गरी प्रमुख रुपमा तीन पक्ष छन् ।हमास एउटा प्यालेस्टिनी इस्लामवादी लडाकु समूह हो। गाजा स्ट्रिपमा अहिले त्यस समूहको सत्ता छ।
इजरेल, संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र यूकेका साथै विभिन्न मुलुक समग्रमा हमासलाई अथवा केही अवस्थामा उसको सैन्य सङ्गठनलाई आतङ्कवादी समूह ठान्छन्।
हमासलाई इरानले सघाउँदै आएको छ। उसले सो समूहलाई आर्थिक सहायता उपलब्ध गराउनुका साथै अस्त्र तथा प्रशिक्षण दिँदै आएको छ। सन् १९८७ मा प्यालेस्टाइनी धर्मगुरु शेख अहमद यासिनले इजरायलविरुद्ध लड्न सैन्य क्षमताको अन्तर्राष्ट्रिय सुन्नी स्लामिक संगठनका रूपमा हमासको स्थापना गरेका थिए ।
गाजा स्ट्रिप ४१ किलोमिटर लम्बाइ र १० किलोमिटर चौडाइ भएको इजरेल, इजिप्ट र भूमध्यसागरबीचको भूभाग हो।
त्यहाँ २३ लाख व्यक्तिको बसोबास छ।
विश्वका धेरै जनघनत्व भएका ठाउँमध्ये गाजा स्ट्रिप पनि एक हो।
वेस्ट ब्याङ्क र गाजा प्यालेस्टिनी भूभागको रूपमा चिनिन्छ। साथै ईस्ट जेरुसलेम र इजरेल बनेको सबै भूभाग रोमनकालदेखि प्यालेस्टाइनको रूपमा चिनिन्छ।
बाइबलमा उल्लेख गरिएअनुसार ती भूभाग यहुदी अधिराज्यहरू हुन् जसलाई यहुदीहरूले आफ्नो प्राचीन मातृभूमिका रूपमा हेर्छन्।
सन् १९४८ मा इजरेल एउटा राज्यको रूपमा घोषणा भयो। यद्यपि इजरेललाई देशको रूपमा मान्यता नदिएकाहरूले अझै त्यो भूमिलाई प्यालेस्टाइन नै भन्ने गरेका छन्।
प्यालेस्टिनीहरूले वेस्ट ब्याङ्क, गाजा र ईस्ट जेरुसलेमलाई समग्रतामा बुझाउन प्यालेस्टाइन नाम प्रयोग गर्छन्।
हमासले इजरेलको विनाशको शपथ लिएको छ र सन् २००७ मा गाजाको सत्ता हातमा लिएयता उसले कैयौँ पटक इजरेलसँग लडाइँ गरिसकेको छ। इजरायल तथा अरब देशहरुबीचको दुश्मनी पुरानै हो । सन् १९४८ मा जब इजरायल देशको स्थापना भयो त्यो बेलादेखि नै अरब देशहरुले इजरायललाई नरुचाएका हुन् । जसका कारण संयुक्त राष्ट्रसंघको दुई राज्य योजना कहिल्यै पनि कार्यान्वयनमा ल्याउन सकिएको छैन । ‘टु स्टेट प्लान’ अर्थात् दुई राज्य योजना संयुक्त राष्ट्रसंघले इजरायल तथा प्यालेस्टाइनबीचको विवाद समाप्त गर्नका लागि अघि सारेको हो । यसमा यहुदीहरुका लागि इजरायल र प्यालेस्टाइनीहरुका लागि प्यालेस्टाइन राज्यको प्रावधान राखिएको छ ।
बलियो बन्दै गयो इजरायल
इतिहास साक्षी छ कि जब-जब इजरायलमाथि हमला हुन्छ तब उसले त्यसको सशक्त जवाफ दिन्छ । इजरायलले आफूमाथिको आक्रमणको जवाफ मात्र दिएको छैन उसले आफूलाई मजबुत पनि बनाउँदै लगेको छ । चाहे १९६७ को ६ दिने युद्ध होस् वा सन् १९७३ को अरब-इजरायल युद्धमा नै किन नहोस्, हरेक युद्धमा इजरायलले भौगोलिक रुपमा आफ्नो आकार समेत बढाउँदै लग्यो र युद्धका कारण प्यालेस्टाइनको भूभाग खुम्चिँदै गएको छ ।
यसैबीच सन् १९९० को दशकको सुरु हुँदै गर्दा इजरायल र प्यालेस्टाइनबीच वार्ताको क्रम सुरु भयो । एकातर्फ वार्ताको माध्यमबाट विवादको समाधान गर्ने प्रयास गरियो भने अर्कोतर्फ मुस्लिम कट्टरपन्थीहरुले सन् १९८७ मा हमास नामक संगठनको स्थापना गरे । अंग्रेजी भाषामा हमासको अर्थ इस्लामिक प्रतिरोध आन्दोलन हो ।
हमासको उद्देश्य प्यालेस्टाइनलाई इजरायलबाट स्वतन्त्र गराउनु र त्यसलाई एउटा मुस्लिम देश बनाउनु थियो । प्यालेस्टाइनमा हमासले जरो गाडेको थियो भने अर्कोतर्फ वार्ताको माध्यमबाट इजरायल र प्यालेस्टानको सम्बन्ध भने सामान्यीकरण हुन थाल्यो । सन् १९९५ मा इजरायलले प्यालेस्टाइनीहरुलाई जमिन फिर्ता गर्न सुरु गर्यो ।
ओस्लो सम्झौताको माध्यमबाट शान्ति स्थापनाको प्रयास
ओस्लो सम्झौता अनुसार गाजा पट्टी र पश्चिम किनारालाई ३ प्रकारका क्षेत्रमा विभाजन गरियो । क्षेत्र ‘ए’ मा यस्ता ठाउँहरुलाई राखियो जहाँ प्यालेस्टाइनको पूर्ण नियन्त्रण थियो । त्यस्तै क्षेत्र ‘बी’ मा त्यस्ता क्षेत्रहरु परे जहाँ प्रशासन प्यालेस्टाइनको रहे पनि सुरक्षा भने इजरायलको हातमा थियो । अनि क्षेत्र ‘सी’ मा चाहिँ पूर्णरुपमा इजरायलको नियन्त्रणमा रहेका ठाउँहरुलाई राखियो ।
सन् १९९५ मा भएको ओस्लो-२ सम्झौता पछि पश्चिम किनाराका हेब्रो, यत्ता, बेतलहम, रमल्ला, कल्कइलियाह, तुलकार्म, जेनिन, नाबुलुस जस्ता सहरहरु प्यालेस्टाइनले प्राप्त गर्यो । त्यस्तै रफाह, खान युनुस, डायरल, अलबलह, जबलियाह, अन नजलाह जस्ता गाजा पट्टीका सहरहरु पनि इजरायलले प्यालेस्टाइनलाई दियो ।
उक्त सम्झौतापछि यस्तो लागेको थियो कि अब इजरायल र प्यालेस्टाइन बीचको विवाद समाप्त भयो र अब दुई देश शान्तिपूर्वक अघि बढ्नेछन् । तर दुबै पक्षका कट्टरपन्थीहरुलाई उक्त सम्झौता स्वीकार्य भएन ।
जब यहुदी र मुसलमानको पर्व एकैदिन पर्यो
सन् १९९४ मा संयोगबस यहुदीहरुको पर्व पुरिम र मुस्लिमहरुको पर्व रमदान एकै दिन पर्यो । त्यही दिन एकजना यहुदी कट्टरपन्थीले मुस्लिमहरुको भिडमा गोली चलाए । त्यसको बदलामा हमास कट्टरपन्थीहरुले आत्मघाती आक्रमणको माध्यमबाट विस्फोटन सुरु गरे ।
यद्यपि ती घटनाहरुपछि पनि ओस्लो सम्झौतामा छलफल जारी थियो । तर सन् १९९५ को नोभेम्बर ४ मा यहुदी कट्टरपन्थीले प्रधानमन्त्री यिजक रोबिनको हत्या गरेसँगै शान्ति प्रयासमा पूर्णविराम लाग्यो ।
सन् १९९६ मा बेन्यामिन नेतन्याहु पहिलोपटक इजरायलको प्रधानमन्त्री बने । उनले कडा रबैया अबलम्बन गरे, सुरक्षासँगै शान्तिको नारा दिए र ओस्लो सम्झौताको पालना गर्न अस्वीकार गरे ।
यता हमासले विस्तारै प्यालेस्टाइनको राजनीतिमा कब्जा जमायो । हमास चरमपन्थीहरुले मुस्लिम भ्रातृत्वको नाममा आर्थिक सहयोग संकलन गर्दछन् र त्यसको प्रयोग इजरायलका विरुद्धमा गर्दछन् ।
शताब्दीकै ठूलो आक्रमण
आत्मघाती आक्रमणबाट सुरु भएको हमासको आतंक यात्रा रकेट आक्रमणसम्म पुगेको छ । पछिल्ला दिनहरुमा हमास चरमपन्थीहरुले इजरायलमा आक्रमण गरिरहेका छन् ।
गत अक्टोबर ७ को दिन हमासले इजरायलमा गरेको रकेट आक्रमण एक्काइसौँ शताब्दीकै सबैभन्दा ठूलो आक्रमण हो ।
अलजजिरा टेलिभिजनको एक कार्यक्रममा हमासका प्रवक्ताले बताएका छन् कि इजरायलमाथिको यो आक्रमण मुस्लिम देशहरुलाई दिएको सन्देश हो कि उनीहरुले इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्ने प्रयास छाडुन् ।
हमासको साथ दिंदै हेजबुल्ला
वास्तवमा पश्चिम किनारामा यस्ता कैयन् महत्वपूर्ण धार्मिक स्थलहरु छन् जहाँ यहुदी र मुस्लिमहरु दुबैले दाबी गर्दछन् । यस्ता अधिकांश क्षेत्रमा इजरायलको नियन्त्रण छ । हमास चाहिँ ती क्षेत्रहरु इजरायलबाट खोसेर इस्लामिक देश बनाउन चाहन्छ ।
धार्मिक मामिला भएका कारणले गर्दा हमासलाई समर्थन तथा लगानी पनि प्राप्त भैरहेको छ । धर्मको नाममा युवाहरुलाई उत्तेजित बनाउनु र इजरायलमाथि आतंकवादी आक्रमण गराउनमा हमासलाई हेजबुल्ला जस्ता संगठनहरुले पनि साथ दिइरहेका छन् ।
भविष्य के होला ?
इजरायल र प्यालेस्टाइन बीचको समस्यामध्ये प्यालेस्टाइनी शरणार्थीको स्थिति के हुन्छ भन्ने एउटा प्रमुख हो । वेस्ट बैंकमा इजरायलले बसालेको बस्ती हटाउने कि रहन दिने भन्ने अर्काे विषय छ ।
जेरुसेलम दुवै पक्षले साझा गर्ने/नगर्ने र इजरायलसँगै अर्कातिर प्यालेस्टाइन राज्यको स्थापनाजस्ता प्रश्नहरू यहाँ छन् ।
वर्षाैँदेखि वार्ता र शान्ति सम्झौताका प्रयास गरिए पनि कुनै टुंगोमा पुग्न सकेको छैन । यस किसिमका जटिल समस्याका कारण प्यालेस्टाइन र इजरायलबीचको द्वन्द्व कति लामो समयसम्म जान सक्छ भन्ने प्रश्न यथावत् छ । एजेन्सीको सहयोगमा