भारतीय राजदूतावास काठमाडौंले आठौं आयुर्वेद दिवसको उत्सवको एक हिस्साको रुपमा परम्परागत चिकित्सा विशेष गरी आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्य सम्भावनाबारे एक छलफल कार्यक्रमको आयोजना गर्यो । उक्त कार्यक्रममा नेपाल सरकार, नेपाल आयुर्वेद चिकित्सक संघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल आयुष उद्योगका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै दूतावासका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तवले आयुर्वेद लगायत परम्परागत चिकित्सा क्षेत्रमा भारत र नेपालबीच रहेको सहकार्यबारे चर्चा गर्नुका साथै वहाँले ज्ञान, विशेषज्ञता तथा क्षमता अभिवृद्धिको आदानप्रदानमार्फत आयुर्वेदमा सहकार्य प्रवद्र्धन गर्न चालिएका विविध पहलबारे जानकारी गराउनुभयो । उहाँले यस वर्षको आयुर्वेद दिवसमा मनाइने उत्सव भारतको अध्यक्षतामा सम्पन्न जी–२० सम्मेलनको नारा ‘वसुधैव कुटुम्बकम’ सँग मेल खाने पनि बताउनुभयो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यता प्राप्त प्रणाली भएको उल्लेख गर्दै नेपाल सरकारले आयुर्वेदको प्रवद्र्धनका लागि लिएको पहलबारे प्रकाश पार्नुभयो । डाबर नेपालका व्यवसाय प्रमुख श्री हरकिरत सिंह वेदीले उद्योगको धारणा व्यक्त गर्दै कसरी डाबरले नेपालबाट जडीबुटी संकलन गर्न आपूर्ति श्रृंखलाको विकास गरेको र त्यसले स्थानीय समुदायका लागि दिगो जडीबुटी खेती गर्ने अवसरहरु प्रदान गरेको बताउनुभयो । चिकित्सकको धारणा प्रस्तुत गर्ने क्रममा नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा.श्यामबाबु यादवले नेपालमा आयुर्वेद चिकित्साको प्रमुख अंग भएको बताउनुभयो र वहाँले नेपालमा यसको समृद्ध इतिहासबारे जानकारी गराउनुभयो ।
भारत सरकार, आयुष मन्त्रालयले सन् २०१६ देखि हरेक वर्ष धनवन्तरी जयन्ती (धन्तेरस)मा आयुर्वेद दिवस मनाउँदै आएको छ । सन् २०२३ नोभेम्बर १० मा मनाइने आठौं आयुर्वेद दिवसको नारा ‘एक स्वास्थ्यका लागि आयुर्वेद–हरेकका लागि हरेक दिन आयुर्वेद’ रहेको छ । यस वर्षको आयुर्वेद दिवसबारे थप जानकारीका लागि https://ayurvedaday.org.in/. मा गएर हेर्न सकिनेछ ।
स्वस्थ भविष्यका लागि एक पृथ्वी एक स्वास्थ्य भावनामा केन्द्रित रही आयुर्वेदको प्रवद्र्धनमार्फत भारत र नेपालबीचको सम्बन्धलाई अझ बलियो बनाउन भारतीय राजदूतावास, काठमाडौं प्रतिबद्ध रहेको छ ।




