जनकपुरधाम -मधेश प्रदेश सभाका सचिव मनोज कुमार गिरी माथि सभामुख रामचन्द्र मण्डलका सहयोगीहरुले कुटपिट गरेको घटना सार्वजनिक भएको छ।सभामुख मण्डलले भुक्तानीका लागि दिएको दबाबमा काम गर्न अस्वीकार गरेपछि सभामुखका सहयोगीहरुले कुटपिट गरेको बताइएको छ।
प्रदेश सभाको सभामुख आवासको छत माथि सोमवार सभामुख रामचन्द्र मण्डल समेत उनका केही सहयोगी, प्रदेश सभा सचिव गिरी, लेखाअधिकृतसमेत घाम ताप्दै छलफल गरिरहेको बेला भुक्तानीका लागि सभामुख मण्डलले सचिवमाथि दबाब दिएको बताइएको छ । तर सचिव र लेखापालले भुक्तानी गर्न अस्वीकार गरेपछि सभामुख मण्डलले मुख छाड्दा उनका सहयोगीले हातपात गरेको बताइएको छ ।
सभामुखको सचिवालयमा रहेका कर्मचारीहरुलाई तलब खुवाउनुपर्ने भन्दै सचिव गिरीमाथि दबाब दिँदै आएका सभामुख मण्डललाई ऐन बनाउन भनेपछि कुटपिट गरेका प्रदेशसभा स्रोतले जनाएका छन् । सभामुख नियुक्त भएपछि मण्डलले आफ्ना ज्वाई सहित दुई दर्जन भन्दा बढी कर्मचारीको नाममा कार्यकर्ता भर्ना गरेको आरोप लाग्दै आएको छ। उनि माथि आसेपासे र कार्यकर्ता भर्ना गर्न प्रदेश सभालाई केन्द्र बनाएको विपक्षीहरुले आरोप लगाउँदै आएका छन् ।
स्रोतहरुका अनुसार यस अघिका सचिव रञ्जित यादवले पनि भ्रमण भत्ता लगायत करारका कर्मचारीहरुलाई तलब, सुबिधा दिन अस्वीकार गरेकाले सभामुख मण्डलकै निर्देशनमा उनको सरुवा गरिएको थियो । अहिलेका सचिव गिरीलाई सभामुखले नै ल्याएका छन् । तर, सभामुखको सेवा सुबिधा भन्दा बढी जनालाई तलव भक्ता खुवाउन भने पछि सचिव गिरीले अस्वीकारगर्दै आएका छन्।
सभामुख मण्डलले पटक-पटक आफ्ना सचिवालयका कर्मचारीहरुलाई तलब, भत्ता तथा अन्य सेवा सुबिधा उपलव्ध गराउन दबाब दिँदै आएका छन् । तर, सचिवहरुले भने सभामुखलाई ऐन बनाउनुपर्ने सुझाव दिँदै आएका छन् ।
घटना बाहिरिएपछि चौतर्फी आलोचना भइ रहँदा सभामुख मण्डलले कुटपिट नभई सामान्य भनाभन भएको स्वीकारेका छन् । उनले भने-‘ सामान्य भनाभन भएको छ, कुटपिट गरेका छैनौ ।’ तर, सचिव गिरीले आफू माथि कुटपिट नै भएको बताएका छन् ।सचिव गिरीले कुटपिटको विषयमा मधेश प्रदेशको कुनै निकायमा उजुरी गरेका छैनन् । तर उनि जनकपुरधाम छाड्ने मनस्थितिमा छन् ।५७ वर्षीय गिरीले प्रदेशसभाको आगामी माघ २१ गते लगत्तै नभए यो महिनाको अन्त्यसम्म काठमाडौं फर्कने बताए ।
‘आर्थिक कार्यहरू गर्न बाँकी छन् । संसद् सचिवका रूपमा म आफैै लेखा उत्तरदायी अधिकृत भएकाले काम नसकिँदै फर्कन सकिँदैन । वार्षिकोत्सव पनि टाउकोमा छ । त्यसैले अलिक दिनमा जनकपुरधाम छाड्नेछु,’ सचिव गिरीले भने,‘ विगतमा कानुनविपरीत भएका कार्य सल्टाउन (नियमसम्मत बनाउन) र कानुनी बाटाबाटै भविष्यमा काम हुने विधि बसाल्न तथा आर्थिक कारोबार व्यवस्थापन गर्न अबेर साँझसम्म लेखाका कर्मचारीहरू काम गरिरहेका छन् ।
’सभामुख मण्डलका स्वकीय सचिवालयका एक कर्मचारीले कानुनसम्मत नदेखिएको कागजातमा हस्ताक्षर गर्न ल्याएको फाइल फर्काएपछि आक्रोशित सभामुख लगायतको टोलीले आफूमाथि आक्रमण गरेको गिरीले जानकारी दिए ।उनले नेपाल भ्युजसंग भने, ‘सभामुख पदको गरिमा र प्रदेशसभाको मर्यादा तथा घरपरिवारका सदस्यलाई चिन्ता होला भन्ने पिरले घटना भएको दुई दिनसम्म बोलिनँ तर अहिले घटना बाहिरिएपछि बोल्नै पर्यो।
’गिरीका अनुसार सोमबार अपराह्न घाम लागेका बेला प्रदेशसभाको पहिलो तल्लामा वार्षिकोत्सव सम्पन्न गर्ने प्रयोजनका लागि गठित उपसमितिमा आबद्ध कर्मचारीसँग कार्यप्रगतिका विषयमा छलफल गरिरहेका बेला कानुनले नमिल्ने फाइलमा हस्ताक्षर गराउन सभामुखको स्वकीय सचिवालयका एक कर्मचारी पुगेका थिए ।
तर, त्यहाँ सहभागी प्रशासनका कर्मचारीले हस्ताक्षर गर्नु नियमसम्मत नहुने भनेपछि पछि हेरौँला भन्दै सचिव गिरीले तिनलाई फर्काएका थिए ।
यसैबीच मधेश निजामती कर्मचारी मञ्चका महासचिव बेचनकुमार महतोले एक विज्ञप्ति जारी गर्दै गिरीमाथि भएको कुटपिटलगायत दुव्र्यवहारको भत्र्सना गर्दै दोषीउपर कारबाहीको माग गरेका छन् ।
यता मधेश प्रदेश सरकारका प्रमुख सचिव दिनेश घिमिरे घटनाबारे अनविज्ञता प्रकट गरे ।




