अनुभवी नेता हितबहादुर तामाङ
नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङ बुवा माइते तामाङ र आमा श्रीमाया तामाङका सुपुत्र हुनुहुन्छ। उहाँको जन्म २०२० जेठ १५ गते नुवाकोटमा भएको हो। २०३७ सालदेखि राजनीतिमा सक्रिय उहाँ २०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी हुनुहुन्थ्यो।

२०४९ सालमा अनेरास्ववियुको नुवाकोट जिल्ला सचिव बन्नुभएका उहाँले २०४७ सालमा ने.क.पा.को चौथो महाधिवेशनबाट सदस्यता लिनुभयो। २०५२ सालमा नेकपा एकता केन्द्रको जिल्ला सचिव बन्नुभएका तामाङ २०५३ सालमा बागमती क्षेत्रीय ब्यूरो सदस्य बन्नुभयो। २०५८ सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य बन्नुभएका उहाँ २०६३ माघ १ मा अन्तरिम व्यवस्थापिका सदस्य बन्नुभयो। तामाङसँग यसअघि २०६६ सालमा युवा तथा खेलकुद मन्त्री बनेको अनुभव छ। २०७४ मा प्रतिनिधि सभा सदस्य बन्नुभएका उहाँ २०७९ सालमा नुवाकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य बन्नुभयो। एसएलसीसम्मको औपचारिक शिक्षा आर्जन गर्नुभएका उहाँसँग शिक्षा, भौतिक पूर्वाधार र पर्यटन क्षेत्र सम्बन्धी विशेष ज्ञान रहेको छ।
एमाले युवा नेता पदम गिरी
नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरी बुवा बले गिरी र माता सिताकुमारी गिरीका सुपुत्र हुनुहुन्छ। उहाँको जन्म २०३३ साल फागुन २८ गते पर्वतमा भएको हो। २०४७ सालमा अनेरास्ववियुको विद्यालय कमिटीबाट उहाँ संगठित हुनुभएको हो। २०७४ सालमा उहाँ पर्वतको काफलचौरु माविबाट अनेरास्ववियुमा संगठित हुनुभएको हो।

२०५५ सालमा पृथ्वीनारायण क्याम्पसमा उहाँ स्ववियु सदस्य बन्नुभयो। त्यसपछि उहाँले स्ववियुको उपसभापति हुँदै सभापतिको जिम्मेवारी सम्हाल्नुभयो। क्याम्पसको राजनीति हुँदै उहाँ नेकपा जिल्ला कमिटी पर्वतको सदस्य, जिल्ला कमिटी अध्यक्ष बन्नुभयो। २०७४ सालको निर्वाचनमा उहाँ पहिलो पटक संघीय संसदमा निर्वाचित हुनुभयो। २०७९ सालको निर्वाचनमा उहाँ पर्वत क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको हो। उहाँसँग स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर काम गरेको अनुभव छ। स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएका नेता गिरी एमालेभित्र प्रभावशाली युवा नेताको रुपमा परिचित हुनुहुन्छ। पार्टी केन्द्रीय सदस्य गिरी एमाले प्रतिनिधि सभाका प्रमुख सचेतक हुनुहुन्छ।
रास्वपा उपसभापति डोलप्रसाद अर्याल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डोरप्रसाद अर्याल बुवा यामराज अर्याल र आमा गुणमाया अर्यालका सुपुत्र हुनुहुन्छ। उहाँको जन्म २०३१ साल भदौ ६ गते धादिङमा भएको हो। राजनीतिमा सक्रिय भएको छोटो अनुभव भए पनि उहाँसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै मन्त्रिपरिषदमा रहेर काम गरेको अनुभव छ। उहाँले यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेर काम गरिसक्नु भएको छ।

२०७९ माघ ३ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नुभएको थियो। उहाँसँग पर्यटन र विप्रेषण क्षेत्रमा दुई दशकदेखि काम गरेको अनुभव छ।




