जनकपुरधाम - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत प्रसाद थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक पदमा बसेर स्रोत नखुलेको करोडौं सम्पति आर्जन गरेको भन्दै अख्तियारले थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
२०७४ असोज ७ गते बागमती नगरपालिकाको पहिलो पटक र दोश्रो पटक समेत निरन्त मेयरमा निर्वाचित भएको २०७९ माघ २९ गतेसम्मको अवधिमा उनले ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ स्रोत नखुलेको सम्पति आर्जन गरेको अख्तियारको ठहर छ ।
अख्तियारका अनुसार २०७४ असोज ७ गते अघि उनको संगोलको सम्पति ७ करोड ८६ लाख ५० हजार २०१ रुपैयाँ संगोल परिवारको सम्पति रहेकोमा मेयर भए यता उनले १३ करोड २० लाख ५ हजार ३९१ रुपैयाँ खर्च तथा लगानी भएको देखिएको छ । उनले सार्वजनिक पदको दुरुपयोग गरेर ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानूनी सम्पति आर्जन गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।त्यसै गरी उनले गैर कानूनी रुपमा आर्जन गरेको सम्पति असुल उपर हुनु पर्ने अख्तियारले माग दावी गरेको छ ।
मेयर थापाले आर्जन गरेको गैर कानुनी सम्पति उनकी श्रीमती रेश्मी कुमारी घिमिरे थापा, उनका भाई रामकुमार थापा र भाई बुहारी द्वारिका राउतको नाममा समेत देखिएकाले उनीहरुलाई समेत अख्तियारले प्रतिवादी बनाएको छ । थापा नेकपा माओवादी केन्द्रबाट दोश्रो पटक मेयरमा निर्वाचित छन् ।भ्रष्टाचार मुद्दा दायरसंगै उनी पदबाट निलम्बित भएका छन् ।




