महोत्तरी- महोत्तरीका १५ स्थानीय तहमध्ये १४ ले बढ्दो शितलहरबाट बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने भन्दै सामुदायिक र संस्थागत विद्यालयहरूमा जाडो बिदा दिएको छ । बर्खे बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिएको हो । हुस्सु र शितलहरले बालबालिकालाई विद्यालय आउँदा स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै जाडो बिदा दिएका हुन् ।
गौशाला नगरपालिकाले भने हालसम्म बिदा नदिएको गौशाला नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत सुबोधकुमार ठाकुरले बताएका छन् । अन्य पालिकाले अवस्थाअनुसार २२ पुसदेखि १ माघसम्म बिदा दिएका हुन् ।
मनरा सिस्वा नगरपालिकाले २४ देखि २९ पुससम्म, पिपरा गाउँपालिकाले २२ देखि २९ पुससम्म, महोत्तरी गाउँपालिकाले २४ देखि २६ पुससम्म, एकडारा गाउँपालिकाले २४ पुसदेखि १ माघसम्म, जलेश्वर नगरपालिकाले २३ देखि २९ पुससम्म, भंगहा नगरपालिकाले २४ देखि २९ पुसम्म, मटिहानी नगरपालिकाले २२ देखि २९ पुससम्म, लोहारपट्टी नगरपालिकाले २२ पुसदेखि १ माघसम्म, बल्वा नगरपालिकाले २३ देखि २९ पुससम्म, सम्सी गाउँपालिकाले २४ देखि २९ पुससम्म, सोनमा गाउँपालिकाले २४ देखि २९ पुससम्म, औरही नगरपालिकाले २५ देखि २९ पुससम्म, रामगोपालपुर नगरपालिकाले २४ देखि २९ पुससम्म र बर्दिवास नगरपालिकाले २५ देखि २९ पुससम्म जाडो बिदा दिएको छ ।
केही पालिकाले शितलहरले दैनिक ज्यालादारी गर्ने र विभिन्न कारण घरबाट निस्कनु पर्नेहरूका लागि विभिन्न चोक तथा वस्तीमा सामुहिक घुर(आगो ताप्ने ) व्यवस्था गरेको छ । बर्दिवास नगरपालिका, रामगोपालपुर नगरपालिकासहित केही स्थानीय तहमा दाउरा बालेर घुरको व्यवस्था सुरु भैसकेको छ भने केहि पालिकामा दाउराको जोहो भैरहेको सम्बन्धित पालिकाले जनाएका छन् ।




