धनुषाको सबैला नगरपालिकाले जनयुद्ध दिवसको अवसरमा भोलि (बिहीबार) सर्बजनिक बिदा दिने निर्णय गरेको छ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित नगर प्रमुख कारीराम यादवले जनयुद्ध दिवसको अवसरमा फाल्गुन १ गते बिदा दिने निर्णय गरेका हुन्।
धनुषामा १८ स्थानीय तह रहेका छन्। जसमध्ये सबैला नगरपालिकामा मात्रै माओवादीका यादव निर्वाचित भएका हुन्। अन्य १७ वटा स्थानीय तहमा बिहीबार सार्वजनिक बिदा दिएको छैन।
सबैला नगरपालिकाको प्रमुखमा निर्वाचित कारीराम माओवादी केन्द्रका मधेस प्रदेश इन्चार्ज मातृका प्रसाद यादवका सहोदर भाइ हुन्।
२०५२ फागुन १ गते माओवादीले सशस्त्र सङ्घर्ष सुरु गरेको थियो। माओवादीले यसलाई 'महान् जनयुद्ध' भनी पार्टीगत रूपमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ।




