सन्तोष सिंह,महोत्तरी - जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले इन्जिनियर सन्जु गुन्जन ठाकुरलाई हातपात गरेका छन् । जलेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकुमार साहको कार्यकक्षमा मेयर साहले इन्जिनियर ठाकुरलाई गालीगलौज गर्दै हातपात गरेको जलेश्वर नगरपालिकाका कर्मचारीहरूले बताएका छन्।
सोमबार ४ बजे प्रशासकीय अधिकृतको कार्यकक्षभित्र अपशब्दहरू निकाल्दै मेयर सोनारले धक्का लगाएर हातपात गरेको इन्जिनियर ठाकुरले बताए। मेयरले हातपात गरेको विषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको उनले बताए।
जलेश्वरमा जडान भएको सीसीटीभी क्यामेराको मूल्याङ्कन १० लाख मात्रै भए पनि १८ लाख भुक्तानीको मूल्याङ्कन गर्न दबाब दिएको र दबाब नमानेपछि मेयरले कुटपिट गरे,' इन्जिनियर ठाकुरले भने, ‘जलेश्वर नगरपालिका भित्र जडान भएको सीसीटीभी क्यामेरा र फ्लड लाइटको मूल्याङ्कन बढाउन मेयरले पटक–पटक धाक धम्की दिएका छन्।’
विद्यालयमा लगाएको क्यामेरा ठीक भए पनि सहर क्षेत्रमा लगाइएको सीसीटीभी क्यामेरा गुणस्तरीय नभएपछि पहिलो पटक लगाइएको क्यामेरा सप्लायर्सले परिवर्तन गरेको इन्जिनियर ठाकुरले बताए। फ्लड लाइटको जिल्ला दरमा त्रुटि रहेको र त्रुटिको फाइदा उठाउँदै अनियमित तरिकाले मूल्याङ्कन गर्न मेयर सोनारले फेरि कुट्ने धम्की दिएको ठाकुरले बताए।
मेयर सोनारले आफ्नै कार्यकक्षमा इन्जिनियरमाथि हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत साहले बताए। मेयर र इन्जिनियरबीच भएको विवाद समाधानका लागि पहल भइरहेको प्रशासकीय अधिकृत साहले जानकारी दिए।
समयमा काम नगरेपछि भुक्तानीमा समस्या भएपछि सामान्य भनाभन मात्रै भएको र बाहिर प्रचार–प्रसार भएजस्तो कुटपिट नभएको मेयर सुरेश साह सोनारले बताए।




