महोत्तरी - यस वर्षको मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो र चट्याङका घटनाहरू बढ्दै गएका छन्। मौसम विज्ञान विभागले यस वर्ष अघिल्ला वर्षहरूको तुलनामा अत्यधिक वर्षा हुने पूर्वानुमान गरिसकेको छ। त्यसैका आधारमा हिमाली तथा पहाडी जिल्लाहरूमा हालसालै अत्यधिक वर्षा भई ठूलो जनधनको क्षति भएको समाचार आइरहेका छन्।
यस सन्दर्भमा बर्दिवास नगरपालिकाले नगरक्षेत्रभित्र नदी तटीय तथा बाढी–पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नगरवासीलाई सतर्क रहन अपिल गरेको छ। नगरपालिकाले सावधानी अपनाउनका लागि आवश्यक सुझावसमेत सार्वजनिक गरेको छ।
नगर प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीद्वारा जारी सूचनामा भनिएको छ, “एक घन्टाभन्दा बढी लगातार वर्षा भएमा उच्च सतर्कता अपनाउन अनुरोध छ। नदी आसपासका बासिन्दाहरूले आफू र आफ्ना पशुचौपायालाई सुरक्षित स्थानमा सार्नु आवश्यक छ।”





