जनकपुर - जनकपुरधाममा १५ वर्षीया किशोरीको हत्या आरोपमा धनुषा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ । धनुषाको बटेश्वर गाउँपालिका ५ घर भई जनकपुरधाम उपमहानगरपालिका- ४, कटैयाचौरी स्थित डेराको कोठामा बस्दै आएकी १५ वर्षीया अञ्जली कुमारी यादवको हत्या आरोपमा उनकै आमाको प्रेमी रामबाबु साह पक्राउ परेका छन् । साहलाई बुधबार राति करिब साढे १० बजेको समयमा क्षीरेश्वरनाथ- ९ बाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।
यो पनि पढ्नुहोस : - धनुषामा धारिलो हतियार प्रहार गरी बालिकाको हत्या , एक महिला र एक अन्य बालिका घाइते
साह यसअघि आफ्नो श्रीमतीको हत्या गरेको घटनामा पाँच वर्ष सजाय काटेर २०७७ मा रिहा भएका थिए । साहले सोमबार राति साढे ११ बजेको समयमा खुकुरी प्रहार गर्दा अञ्जलीको मृत्यु भएको छ भने उनको आमा ३५ वर्षीया आशा यादव र मिथिला नगरपालिका १, ढल्केवर बस्ने होविन्द्र यादवको १४ वर्षीया छोरी राशा यादव घाइते भएका थिए । आशाको धरान स्थित वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको तथा उनको अवस्था गम्भी रहेको प्रहरीले जनाएका छन् ।
रामबाबुले आशालाई जिविको पार्जनका लागि अटो खरिद गरिदिएकोमा त्यो अटो आफ्नो भाईको नाममा नामसारी गराएको र रामबाबु सँगै बस्ने कोठा सारेर आफ्नो श्रीमानलाई समेत ल्याएको खुलेको छ । घटनाको दिन समेत रामबाबुले पटक-पटक आशालाई फोन गर्दा आफु नउठाई छोरी अञ्जलीलाई दिएको र एक पटक कुरा भएपछि गाली लगौच गरेपछि रिसमा आएर गालि गर्दै आशा बस्ने कोठामा घरबाटै खुकुरी लिएर आई प्रहार गरेको प्रहरीले जनाएको छ ।




