सर्लाही - बागमतीमा आज दिउँसो दुईवटा बेग्लाबेग्लै मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु र सात जना घाइते भएका छन्।
पहिलो दुर्घटना बागमती नगरपालिका–१२ को बागमती पुलबाट भरत तालतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०३१ प ४९२३ नम्बरको मोटरसाइकललाई पछाडिबाट ज ११ प ५५०५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा भएको हो। दुर्घटनामा बाराको कोल्हबी नगरपालिका–९ बस्ने ४२ वर्षीया इनरवती देवी चौधरी गम्भीर घाइते भई उपचारका लागि चन्द्रनिगाहपुर हाइवे ट्रमा सेन्टर पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका छन्। मृत्यु भएकी इनरवतीकी छोराहरु ३२ वर्षीय दीपक चौधरी र २८ वर्षीय रामरुप चौधरी पनि घाइते भएका छन्। त्यसैगरी, ठक्कर दिने मोटरसाइकलका चालक २० वर्षीय बिशाल महतो र उनको पछाडि सवार २० वर्षीय भारतीय नागरिक प्रेमकुमार भगत पनि सामान्य घाइते भएका छन् र उपचारपछि प्रहरीले नियन्त्रणमा लिएका छन्।
दोस्रो दुर्घटना बागमती नगरपालिका–१२ को बथाने टोलमा भएको छ। बागमती प्रदेश ०२–०५७ प ७८७९ नम्बरको मोटरसाइकललाई पछाडिबाट प्रदेश ०२–०३–००१२ प २४३० नम्बरको मोटरसाइकलले ठक्कर दिएको छ। यसमा तीन जना घाइते भएका छन्। घाइतेहरूमा मोटरसाइकल चालक १८ वर्षीय राजु चौधरी, उनको आमा ४५ वर्षीया राधिका देवी चौधरी र ठक्कर दिने मोटरसाइकलका चालक १८ वर्षीय घनश्याम चौधरी रहेका छन्। दुबै चालक उपचारपछि डिस्चार्ज भइसकेका छन् भने राधिका देवीको उपचार कर्मैयाकै स्वास्थ्य संस्थामा भइरहेको छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।




