महोत्तरी - महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–४, खेश्राहामा सोमबार करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा त्यही स्थानका ६५ वर्षीय मोकदम राय रहेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक नन्दकिशोर चौहानका अनुसार खेतमा पानी हाल्नका लागि मोटरमा विद्युतीय तार जोड्ने क्रममा एक्कासि करेन्ट प्रवाह भई घटनास्थलमै रायको मृत्यु भएको हो।
घटनापछि शवलाई आवश्यक अनुसन्धान तथा पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ।
यसअघि असार र साउन महिनामा मात्र महोत्तरीमा करेन्ट लागेर दुई जनाले ज्यान गुमाइसकेका छन्। असार २२ गते औरही नगरपालिका–७, भोइल टिमकीयामा कल्भर्ट निर्माण कार्य गर्दै गर्दा रामगोपालपुर नगरपालिका–५ का ३२ वर्षीय मजदुर छटु मुखियाको बिजुलीको तार चुडिएर खस्दा मृत्यु भएको थियो।
त्यसैगरी गत हप्तामात्र सम्सी गाउँपालिका–५, पोखरभिण्डाका १६ वर्षीय अमित यादवलाई आफ्नै खेतमा मोटरको तार जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएको थियो।




