जनकपुरधाम- डिभिजन वन कार्यालय धनुषाले आयोजना गरेको विशेष कार्यक्रममा उत्कृष्ट सामुदायिक, कबुलियती तथा निजी वनका प्रतिनिधि र कार्यालयका उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका वन तथा वातावरण मन्त्री सञ्जय कुमार यादवले पुरस्कार वितरण गर्दै वन संरक्षण, व्यवस्थापन र विकासमा योगदान पुर्याउनेलाई सम्मान गर्नु प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए ।
मन्त्री यादवले वन संरक्षणका क्षेत्रमा संलग्न व्यक्ति, संस्था र कर्मचारीलाई यस प्रकारको सम्मानले थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै भविष्यमा वन संरक्षणमा अझ सक्रिय भूमिका निर्वाह गर्न प्रोत्साहित हुने धारणा राखे । उनले प्रदेश सरकार वन संरक्षण र दिगो व्यवस्थापनमा सधैं कटिबद्ध रहेको बताए ।
कार्यक्रममा प्रदेश वन निर्देशनालयका उपसचिव बेचन चौधरी, डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद कुमार सिंह सहित अन्य अधिकारी तथा कर्मचारीको पनि उपस्थिती थियो ।
कार्यालयले विशेष गरी सामुदायिक वन, कबुलियती वन र निजी वनका उत्कृष्ट गतिविधिहरू, वन संरक्षणमा योगदान दिने कर्मचारीको कार्यसम्पादन र समर्पणलाई मूल्याङ्कन गरी सम्मान गरेको छ ।




