जनकपुरधाम उपमहानगरपालिका– ९ का राजकिशोर यादवलाई धनुषा जिल्ला अदालतले धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ ।
जिल्ला अदालतले बिहीबार न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले ५० हजार धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ । उनलाई ९ वटा तमसुक, २३ वटा लालपुर्जा र ५ वटा चेकसहित यादवलाई पक्राउ धनुषा प्रहरीले पक्राउ गरेको थियो ।
मिथिला नगरपालिका–८ की ऋणी विमलाकुमारी ध्रोङचिङ मगरले साहु राजकिशोरको नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी थिइन् । त्यसपछि धनुषा प्रहरीले साउन २ गते यादवलाई पक्राउ गरेको थियो । मृतक परिवारकै जाहेरीको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले उनीमाथि आत्महत्या दुरुत्साहन र अनुचित लेनदेन मुद्दा दायर गरेको थियो ।
यादवलाई आत्महत्या दुरुत्साहन मुद्दामा बुधबार चार लाख रुपैयाँ धरौटीमा छोड्ने अदालतले आदेश दिएको थियो भने बिहीबार अनुचित लेनदेन मुद्दामा पनि ५० हजार रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको छ ।
साहु यादवले गत असार ३२ गते मिथिला नगरपालिका–८ की ३४ वर्षीया मगरलाई गालीबेइज्जती गर्दै जेल पठाइ दिने धम्की दिएका थिए । त्यसको अर्को दिन विमलाले साहु यादवको नाम उल्लेख गर्दै ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी थिइन् ।
धनुषा प्रहरीले साहु यादवलाई पक्राउ गरेर घरको खानतलासी गर्दा ९ वटा तमसुक, २३ वटा लालपुर्जा र विभिन्न बैंकका चेकसमते बरामद गरेको थियो ।




