जनकपुरधाम - सर्लाहीको हरिपूर्वा नगरपालिका–६ का शिक्षक रामपुकार यादवको हत्या घटनामा एक वर्षअघि आफ्नै श्रीमतीको हत्या र बुबालाई गोली हानेर फरार रहेका अभियुक्त नै संलग्न रहेको खुलेको छ । पक्राउ पर्नेमा सर्लाही प्रहरीका अनुसार हत्यामा प्रयोग भएको मोटरसाइकल चलाउँदै आएका व्यक्ति हरिपूर्वा नगरपालिका–५ का २६ वर्षीय धर्मेन्द्र उर्फ धिरेन्द्र राय हुन् ।
बीआर ३० एजी २३५४ नम्बरको अपाचे मोटरसाइकल चलाएर आएका धिरेन्द्रसँगै पछाडि सवार व्यक्तिले शुक्रबार राति करिब साढे ८ बजे रामपुकार यादवलाई घर अगाडि टाउकोमा गोली हानेका थिए ।
गम्भीर घाइते भएका यादवलाई उपचारका लागि महोत्तरीको जानकी एकेडमिक अस्पताल पुर्याउने क्रममा बाटैमा मृत्यु भएको थियो ।
प्रहरी प्रवक्ता डिएसपी सरोज राईका अनुसार गोली प्रहारपछि भाग्ने क्रममा मोटरसाइकल दुर्घटनामा परेको थियो । त्यस क्रममा धिरेन्द्र घाइते भई उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पताल हुँदै जनकपुर प्रादेशिक अस्पताल ल्याइएका थिए । उपचारपछि उनलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान अघि बढाएको छ ।
अनुसन्धानका क्रममा धिरेन्द्रको रामपुकारका छोरा सुमितसँग केही समयअघि विवाद भएको र त्यसकै निहुँमा हत्या गरिएको प्रारम्भिक अनुसन्धान र धिरेन्द्रको बयानबाट खुलेको प्रहरीको भनाइ छ ।
धिरेन्द्र पहिले नै गम्भीर आपराधिक घटनामा संलग्न रहेका थिए । २०८१ साल असोज १० गते राति उनले आफ्नै श्रीमती चित्रलेखा कुमारी यादवको गोली हानेर हत्या गरेका थिए भने उनका बुवा रामदिनेश राय पनि सो क्रममा घाइते भएका थिए । त्यस घटनापछि उनका बुवाले नै १४ असोजमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा प्रहरीमा जाहेरी दिएका थिए । त्यसबेलादेखि फरार धिरेन्द्र पुनः अर्को अपराधमा संलग्न भएको प्रहरीले जनाएको छ ।
घटनास्थल र धिरेन्द्रको मलंगवा–९ स्थित डेराबाट नलकटुवा पेस्तोल, फायर भइसकेको गोलीको खोका र अन्य प्रमाण बरामद भएको छ । घटनामा संलग्न भई मोटरसाइकलमा सवार अर्का व्यक्ति भने अझै फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सर्लाही प्रहरीले धिरेन्द्रलाई शनिबारदेखि लागू हुने गरी कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाएको छ ।




