महोत्तरी - पुत्र, पति र परिवारका सदस्यहरूको आरोग्यता तथा सुख–समृद्धिको कामना गर्दै मिथिलाञ्चलमा आज भदैया रैब पर्व धार्मिक आस्था र परम्परागत उत्साहका साथ मनाइँदैछ । विशेषगरी महिलाहरूले सूर्यदेवको आराधना गर्ने यो पर्व महोत्तरी, धनुषा, सिरहा, सर्लाहीसहित सम्पूर्ण मिथिला क्षेत्रमा बिहानैदेखि सुरु भएको हो ।
बिहानैदेखि बर्तालु महिलाहरूले घरघरमा ठेकुवा (सक्खर हालेर बनाइने विशेष पकवान) पकाएर केरा, मकै, काँक्रो, स्याउलगायत फलफूल, अक्षता, सुपारी र पानसहित पूजा सामग्री तयारी गरेका छन् । यी सामग्री लिएर उनीहरू नजिकैका पोखरी, तलाउ वा नदीमा पुगेर सूर्यदेवतालाई अघ्र्य अर्पण गर्दै रैब पर्वको पूजाआराधना गर्छन् ।
भदौ महिनामा मनाइने भएकाले यसलाई भदैया रैब भनिन्छ । पूजा सम्पन्न गरी घर फर्किएपछि बर्तालुहरूले आँगन वा पिँढीमा नेउज हाल्ने परम्परा पूरा गर्छन् । यस क्रममा केराको पातमाथि सक्खर हालेर बनाइएको खिर, फलफूल र केरा अर्पण गरिन्छ । प्रत्येक बर्तालुले परिवारका सदस्य संख्याअनुसार दुईवटा नेउज हाल्नुपर्छ भने विदेश वा घर बाहिर रहेका सदस्यको नाममा पनि अरूले नेउज हाल्ने चलन रहिआएको छ ।
आज राति बर्तालुहरूले नुनबिनाको भोजन ग्रहण गर्ने परम्परा छ । यस पर्वसँगै मिथिलाञ्चलमा अब प्रत्येक आइतबार महिलाहरू दिनभर उपवास बसेर बेलुकी नुनबिनाको खाना खाई छ महिनासम्म निरन्तर रैब पर्व मनाउने गर्छन् । कतिपय महिलाले भने महिनाको एउटा आइतबार मात्रै उपवास बसेर पनि पर्व पूरा गर्ने प्रचलन पालना गर्छन् ।
औरही नगरपालिका–२ निवासी बर्तालु मन्जु कुमारी यादव “यदुवंशी”भन्छिन्– “रैब पर्व हाम्रो धार्मिक विश्वास, संस्कृति र परम्परासँग गासिएको आस्था हो । यस दिन सूर्यदेवको आराधना गरी परिवारको आरोग्यता, दीर्घायु र सुख–समृद्धिको कामना गरिन्छ । महिलाहरूको आत्मबल, श्रद्धा र समर्पणले यो पर्व अझै जीवित रहन सकेको हो ।”




