दशमीमा अत्यधिक भीडभाड रहने गरेको जनकपुरधामस्थित राजदेवी मन्दिरमा यसपटक पनि महिलाहरुले लगाएको गरगहनासहित पर्सहरुसमेत चोरी हुने क्रम रोकिएको छैन । राजदेवी मन्दिरको दक्षिणतर्फको झ्यालबाट राजदेवी माताको दर्शन गर्न पुगेकी एक महिलाको लाइन लागेकै क्रममा गुपचुप रुपमा पर्स चोरी भएको छ । सो पर्समा ९ हजार रुपैयाँसहित केही सामग्रीहरु पनि रहेको ती महिलाले जानकारी दिइन् ।
महावीर युवा कमिटीको मातहतमा रही राजदेवी मन्दिरमा पूजाअर्चना हुँदै आएको छ । सो मन्दिरमा विगतमा पनि चोरीको घटनालाई रोक्नका लागि सिसिटिभी क्यामेरा जडान गरिए पनि दर्शनार्थीहरुको अनुहार पहिचान भएको छ । तर सिसिटिभी क्यामेरामा भने चोर समाउने गरी उक्त क्यामेरा जडान नगर्दा चोरले उन्मुक्ति पाएको भन्दै ती महिलाले गुनासो गरिन् । पीडित महिलाले महावीर युवा कमिटीमाथि नै प्रश्न खडा गर्दै उनीहरुमाथि नै चोरीको आरोप लगाइन् । गत वर्ष पनि राजदेवी मन्दिरमा महिलाहरुको अत्यधिक भीडभाड हुने स्थलबाटै करिब आधा दर्जनभन्दा बढी महिलाले लगाएको मंगलसुत्र, सुनको गरगहना र पर्सलगायतका विभिन्न सामग्रीहरु चोरी भएको थियो ।
सो गुनासोहरु प्रहरी कार्यालयसम्म पुगेपछि मन्दिरमा सिसिटिभी जडान गरिएको थियो । तर सो सिसिटिभी जडानको क्रममा चोरलाई समाउने भन्दा पूजाअर्चना गर्ने दृश्यसहितको भिडियोहरु कैद हुने गरेको छ । जसले गर्दा यस वर्ष पनि चोरीको घटनाले निरन्तरता पाए पनि स्थानीय प्रहरी र युवा क्लबको सुरक्षा व्यवस्था पनि प्रश्न खडा भएको एक श्रद्धालुले बताइन् ।




