महोत्तरी - सर्लाहीमा माटो खन्ने क्रममा ढिस्को खस्दा महोत्तरीका एक वृद्धा र तीन बालिका गम्भीर घाइते भएका छन्।
बुधबार बिहान करिब साढे ९ बजेतिर हरिपुर्वा नगरपालिका–१, हर्दी खोलामा खुर्पाले माटो खन्ने क्रममा अचानक माटोको ढिस्को खस्दा उनीहरू पुरिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
प्रहरीका सहप्रवक्ता, प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार घाइते हुनेहरूमा महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथाना बस्ने ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन्।
उनीहरूलाई स्थानीयवासी र प्रहरीको सहयोगमा ढिस्कोबाट निकालेर तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




