महोत्तरी- महोत्तरीमा प्रहरीले ३० केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिवास नगरपालिका–४ स्थित पञ्चधुरा मन्दिर क्षेत्र र मनराशिसवा गाउँपालिका–२ भोल्हीबाट गाँजा बरामद गरिएको हो ।
पञ्चधुरा मन्दिर क्षेत्रको झाडीमा लुकाइराखिएको १० केजी गाँजा फेला परेपछि प्रहरीले सर्लाही हरिवन नगरपालिका–४ का २३ वर्षीय डेनिस घिसिङ, २९ वर्षीय राज बुलन, जनकपुरधाम उपमहानगरपालिका–२ का २६ वर्षीय धिरण यादव र २४ वर्षीय उमेश यादवलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै, सरपल्लोबाट भोल्हीतर्फ जाँदै गरेको अनटेस्ट पल्सर मोटरसाइकल जाँच गर्ने क्रममा थप २० केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकलसहित महोत्तरी सोनमा गाउँपालिका–१ का ३१ वर्षीय रामभरोस यादवलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिए ।
पक्राउ परेकाहरूविरुद्ध मुद्दा दायर गरी जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।




