महोत्तरी - जनताको मागअनुसार गौशाला नगरपालिकाले नगर अस्पतालमा मातृ तथा नवजात शिशु उपचार सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। बुधबार आयोजित विशेष समारोहबीच उक्त सेवा ब्लकको उद्घाटन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा महोत्तरी-१ का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोईरीले लामो समयदेखि प्रतिक्षित सेवाको सुरुवात जनताको आवश्यकता र मागअनुसार गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको पहुँच सबैसम्म पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले उठाएको यो कदम अत्यन्त सराहनीय छ।”

उक्त अवसरमा नगर प्रमुख डा. दिपेन्द्र महतोले मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको गुणस्तर र पहुँच विस्तार नगरपालिकाको प्राथमिकता रहेको बताउनुभयो। उहाँले थप भन्नुभयो, “हामी जनताको स्वास्थ्य सुरक्षाप्रति पूर्ण रूपमा प्रतिबद्ध छौं। यो ब्लक सञ्चालनसँगै आमाबाबु र नवजात शिशुका लागि सहज, गुणस्तरीय र सुरक्षित उपचार सुविधा उपलब्ध हुनेछ। आगामी दिनमा नगर अस्पताललाई अझ स्तरोन्नति गर्दै विशेषज्ञ सेवा विस्तार गर्ने हाम्रो योजना छ।”

उद्घाटन कार्यक्रममा नगरका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो। नगर प्रमुख महतोले स्वास्थ्य क्षेत्रमा निरन्तर सुधार र सेवा विस्तारमार्फत सम्पूर्ण नागरिकको भलाइ सुनिश्चित गर्ने प्रतिबद्धता पुन: व्यक्त गर्नुभयो।





