महोत्तरी - चार दिनसम्म विभिन्न विधिपूर्वक मनाइने महापर्व छठको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ । तराई–मधेसका गाउँदेखि शहरसम्मका नदी, पोखरी र तलाउहरू दुलहीझैँ सिँगारिएपछि व्रतालुहरूले श्रद्धा, भक्ति र आस्थाका साथ सूर्यदेवलाई पहिलो अर्घ्य अर्पण गरेका हुन् ।
छठ पर्वमा सूर्यदेव र छठी मइया (छठी माताको) आराधना गरी परिवारको सुख, समृद्धि र सन्तानको दीर्घायुको कामना गरिन्छ । हिन्दू धर्मशास्त्रअनुसार सूर्यलाई प्रत्यक्ष देवता मानिन्छ -जसको उपासना स्वास्थ्य, समृद्धि र पवित्रताको प्रतीकका रूपमा गरिन्छ । छठ पर्वमा व्रतालुहरू ३६ घण्टा निराहार रही आत्मसंयम, पवित्रता र श्रद्धासहित पूजा–अर्चना गर्छन् ।
भिडियो हेर्नुहोस्
माटोले बनाइएका नयाँ घैलो, बाँसका सुपा, कोलसुप, ढकिया र चंगेरामा ठेकुवा, भुसुवा, कसार, केरा, उखु, स्याउ, गगर, नारिवल लगायतका प्रसाद राखी जलाशय किनारमा पूजा गरिएको थियो । व्रतालुहरूले दुवै हातमा चामलको घोल, सिन्दूर, अक्षता र फूलसहित सूर्यदेवलाई पालैपालो अर्घ्य अर्पण गरे । घाटहरूमा गुञ्जिएको “जय छठी मइया” को जयघोषले वातावरण भक्तिमय बनेको थियो ।
महोत्तरीको औरही नगरपालिका–२ स्थित रामजानकी कुट्टी नजिकको पोखरी घाट, औरही–१ जङ्गहा र सोही वडाको महादेव पोखरी घाटमा आज साँझ व्रतालुहरू अर्घ्यका तयारीमा व्यस्त देखिन्थे । जलाशय वरिपरि दीप र फूलमालाले सजाइएको दृश्य अत्यन्त मनमोहक बनेको थियो ।

औरही नगरपालिका–२ की व्रतालु कर्म देवी यादवले भनिन्,“छठी मइयाको कृपा पाए घरमा शान्ति रहन्छ, सन्तान दीर्घायु हुन्छ, र मनमा शुद्धता आउँछ भन्ने विश्वासले म हरेक वर्ष यो व्रत गर्छु । यो व्रतले शरीर र मन दुवैलाई पवित्र बनाउँछ ।”
भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको विधिवत् समापन गरिनेछ । विना भेदभाव, सबै जाति र समुदायका मानिसहरूको सामूहिक सहभागिताले यो पर्व धार्मिक सहिष्णुता, सामाजिक एकता र मेलमिलापको प्रतीकका रूपमा स्थापित भएको छ ।























