बर्दिवास । रोटरी क्लब अफ बर्दिवासले सामाजिक संजालमा सदस्यहरुमाथी गालीगलौज र निराधार आरोप लगाएको भन्दै कानुनी उपचार खोज्ने भएको छ ।
बिषयवस्तुको स्पष्टता विना लगातार आरोप लगाउदै चरित्र हत्या समेत गरेको हुनाले कानुनी उपचार खोज्ने निष्कर्ष निकालिएको संस्थाले जनाएको हो ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै संजालमा प्रयोग गरिएका अशिष्ट शब्द र गालीगलौजले सामाजिक सेवामा अहोरात्र खटिने व्यक्तिहरुको मानमर्दन र प्रतिष्ठामा आचँ पुगेको बताईएको छ ।
२०७८ चैत्र महिनामा क्लवले पर्यटन पर्वद्वन र विकासमा सहयोग गर्ने उदेश्यले रातु मित्रपार्क निर्माण गर्न वडा र नगरसँग प्रस्तावना पेश गरेको र उक्त प्रस्तावनालाई अनुमोदन गर्दै नगरसँग भएको दुई पक्षीय सम्झौतालाई समेत गलत ढंगले व्याख्या गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
२०७८ साल चैत्र २१ गते रातु मित्रपार्क वृक्षारोपण (ग्रीनरी) निर्माणको लागि सम्झौता भएको उल्लेख गर्दै रातु मित्रपार्क निर्माण आयोजना निर्धारित काम सम्पन्न भएपछी संस्था कै कोषको माध्यमबाट संचालन गरिएको क्लवले स्पष्ट बनाएको छ ।
विज्ञप्तिमा भनिएको छ - `तर डिभिजन वन कार्यालय महोत्तरीबाट विनियोजन भएको वजेट क्लवमार्फत संचालन गर्न नमिलेपछि 'रातु मित्रपार्क निर्माण उपभोक्ता समिति' कै माध्यमबाट गरिएको व्यहोरा जानकारी गराउदछौ ।´
यसै सन्दर्भमा विषयवस्तुलाई तोडमोड गर्दै लेखिएको स्टाटसहरुमा कुनैपनि सत्यता नभएको रोटरी क्लवले जिकिर गरेको छ ।
जुनसुकै कामहरु विधि, विधान र कानुनी पक्षहरुको सुनिश्यता गरेर मात्र गरिएको बताउदै संस्थाका अध्यक्ष सिताराम ढुंगेलले हरेक कामहरु सोहीअनुसार सम्बन्धित निकायसँग सम्झौता भएको सम्पूर्ण प्रमाण र आधारहरु सुरक्षित रहेको दावी गरेका छन।
विना आधार सामाजिक संजालबाट सम्पूर्ण रोटरीका सदस्यहरुलाई लगाइएका आरोप र गालीगलौज कानूनी दृष्टिकोणले समेत अभद्र भएको संस्थाले निष्कर्ष निकालेको छ ।
चरित्र हत्या गर्नेगरि व्यक्ति र संस्थामाथी भएको अशिष्ट स्खलन कानुनविपरित नै भएको ठहर गर्दै आज बसेको बैठकबाट आधारहिन आरोप र गालीगलौज गर्नेहरुका विरुद्व कानुनी उपचारमा जाने सर्वसम्मत निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सामाजिक अनुशासन, सामाजिक एकता र सभ्य समाज निर्माणमा संस्थाले विज्ञप्ति मार्फत नै प्रतिवद्धता जनाउदै असामाजिक जुनसुकै हर्कतविरुद्व कडा प्रतिबाद गर्ने संस्थाले चेतावनी समेत दिएको छ ।





