जनकपुरधाम - सोनपुरस्थित हरिहर क्षेत्र धामका प्रसिद्ध साधु मौनीबाबा ८४ कोश परिक्रमा यात्राका क्रममा शनिबार जनकपुरधाम आएका छन्।
परम्परागत रूपमा पहिलोपटक यस धार्मिक यात्रामा सहभागी हुँदै मौनीबाबा जनकपुरधाम आइपुगेका हुन्।
जनकपुर आगमनपछि उनले ऐतिहासिक तथा धार्मिक महत्त्वका केन्द्र जानकी मन्दिरमा विशेष पूजाअर्चना तथा दर्शन गरे।
जानकी मन्दिर परिसरमा कुरा गर्दै मौनीबाबाले भने‚ ‘जनकपुरधाम धार्मिक तथा आध्यात्मिक चेतनाको केन्द्र हो।’
धर्म, श्रद्धा र सत्यको मार्गमा सबै एकताबद्ध भएर अघि बढ्नु आजको आवश्यकता रहेको उनले बताए।
मौनीबाबाको आगमनसँगै मन्दिर क्षेत्रमा भक्तजनको भीड बढेको छ। मिथिलाको सांस्कृतिक तथा धार्मिक वैभवसँग जोडिएको ८४ कोश परिक्रमा हाल देश–विदेशका तीर्थयात्रीको व्यापक सहभागितामा जारी छ।
मौनीबाबाको आगमनसँगै जानकी मन्दिर क्षेत्रमा भक्तजनको भीड बढेको छ। धर्मगुरु तथा साधुसन्तको उपस्थितिले जनकपुरधाममा धार्मिक वातावरण उल्लासमय बनेको छ।
८४ कोश परिक्रमामा नेपाल र भारतका हजारौँ भक्तजन सहभागी हुन्छन्।
पहिलोपटक पाँचदिवसीय हरिहर क्षेत्र-मिथिला चौरासी कोश संकीर्तन परिक्रमा आयोजना हुन लागेको छ। भारतको बिहारको हाजीपुरस्थित हरिहर क्षेत्रबाट शुरु हुने सो हरिहर क्षेत्र मिथिला चौरासी कोश संकीर्तन परिक्रमा आजै जनकपुरधाम आएको हो।
शनिबार साँझ भिठ्ठामोड महोत्तरीको सिमानामा जानकी मन्दिरका छोटे महन्त रामरोशन दासले स्वागत गरेका थिए।
त्यहाँबाट जानकी मन्दिरको अगुवाइमा साधुसन्तहरुको टोलीले उनलाई स्वागत गर्दै जानकी मन्दिर ल्याए।
जनकपुरधामपछि ती परिक्रमा टोली भारत बिहारको दरभंगा, अहिल्यास्थान, पातरपुर, सिमरिया र विशौल हुँदै पुनः हाजीपुर पुग्नेछ।








