काठमाडौं - नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले एमालेको ११ औं राष्ट्रिय महाधिवेशन उद्घाटनले जनताको आवाज बुलन्द गर्ने बताउनुभएको छ । पार्टीको महाधिवेशन जनपरिचालन समितिका संयोजक समेत रहनु भएका ज्ञवालीले राजनीतिक पार्टीहरु कमजोर हुँदा त्यसको फाइदा अराजक शक्तिहरुले लिन खोज्ने भएकाले दलहरुले सक्रिय राजनीतिमा हस्तक्षेप गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह पार्टी परिवारका लागि त सबैभन्दा ठुलो उत्सव हो नै, लोकतन्त्रको पक्षमा जनताको आवाजको प्रतिध्वनि पनि हो’ सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै उपमहासचिव ज्ञवालीले लेख्नुभएको छ ‘राजनीतिक पार्टीहरु कमजोर वा शिथिल हुँदा त्यसको रिक्तताको ठाउँ अराजक शक्तिहरुले लिन खोज्छन्।’
उपमहासचिव ज्ञवालीले २०६२ मंसिर ४ गते बुटवलमा लामो समयपछि भएको नेकपा (एमाले) को विशाल जनप्रदर्शनले देशब्यापी रुपमा प्रतिगमनविरुद्ध आन्दोलनको माहोल ल्याएको स्मरण गर्नुभएको छ । शाही ‘कु’ पछि त्यसबेला दलहरुले ठुला आमसभा गर्न नसकिरहेका बेला बुटवलमा एमालेले मंसिर ४ मा गरेको आमसभामा लुम्बिनीका विभिन्न क्षेत्रबाट ठुलो संख्यामा मानिसहरु उपस्थित भएका थिए ।
सोही आमसभापछि देशैभरी शाही कु विरुद्ध दलहरुले आयोजना गरेका कार्यक्रममा मानिसहरुको उपस्थिति बाक्लो हुन थालेको थियो । ज्ञवालीले उक्त आमसभालाई शाही कु विरुद्धको जगको संज्ञा दिनुभएको छ । ‘२०६२ मंसिर ४ गते एमालेले बुटवलमा गरेको सशक्त जनप्रर्दशनले माघ १९ को शाही कु पश्चात उत्पन्न सन्नाटालाई चिर्दै प्रतिगमनका विरुद्ध ऐतिहासिक आन्दोलनको जग बसालेको थियो’ ज्ञवालीले लेख्नुभएको छ ।
उहाँले मंसिर २७ को एमालेको उद्घाटन सभा पनि लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि निर्णायक मोडका रुपमा भूमिका खेल्ने दाबी गर्नुभयो । ‘मंसिर २७ को उद्घाटन समारोहको जनउपस्थितिले पनि संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि निर्णायक मोडको रुपमा भूमिका खेल्नेछ’ ज्ञवालीले लेख्नुभएको छ ‘हाम्रो एक दिनको उपस्थितिले खास अर्थ राख्छ भने किन उपस्थित नहुने ?’ उपमहासचिव ज्ञवालीले मंसिर २७ गतेको उद्घाटन सभामा सहभागी हुने सबैलाई भक्तपुरको सल्लाघारीमा उपस्थित हुन् आह्वान गर्नुभएको छ।




