महोत्तरी — प्रतिभा युवा क्लब गोलबजारले प्रथम बर्दिवास मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार बर्दिवास रंगशालामा प्रतिभाले सहलेश सिराहालाई पेनाल्टी शुटआउटमा ५–४ ले हराएको हो ।
निर्धारित समयभित्र दुवैले १–१ को बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी शुटआउटमा भएको थियो । खेलको १८ औं मिनेटमा सहलेशका रूपक लामाले गोल गर्दै दिलाएको अग्रतालाई दोस्रो हाफको अन्तिम समयमा प्रतिभाका विशाल बस्नेतले गोल फर्काएर निर्धारित समयको खेल बराबरीमा टुंग्याएका थिए ।
पेनाल्टी शुटआउटमा प्रतिभाका अमर श्रेष्ठ, निश्चल लामा, आविष्कार खड्का, शिशिर लेखी र म्याक्सवेलले गोल गरे । सहलेशबाट रितिक खड्का, गौरव श्रेष्ठ, अली ओलास र जनक कार्कीले गोल गरे । आर्मनले प्रहार विफल भयो ।

विजेता प्रतिभाले २ लाख र उपविजेता सहलेशले १ लाख रुपैयाँ पुरस्कार पाए । प्रतिभाका विशाल बस्नेत म्यान अफ द म्याच भए।


उत्कृष्ट गोलरक्षक प्रतिभाकै मनोज प्रधान घोषित भए । उत्कृष्ट डिफेन्डर सहलेशका जनक कार्की, सर्वाधिक गोलकर्ता सहलेशका आर्मन, उत्कृष्ट मिडफिल्डर शिशिर लेखी, उदीयमान खेलाडी बर्दिवास ११ का अंकित मगर भए । सर्वोत्कृष्ट खेलाडी सहलेशका रूपक लामा भए ।
बर्दिवास नगरपालिकाका मेयर विदुर कार्कीले बर्दिवास गोल्डकपमा सफल आयोजना भएको जनाउँदै नगरपालिकाले थप खेलकुदका गतिविधि गरिराख्ने बताए ।
बर्दिवास नगरपालिकाको २० लाख ३७ हजार ५ सय ५० बजेटबाट प्रतियोगिता सम्पन्न भएको नगर खेलकुद विकास समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् !