काठमाडौं- काठमाडौं उपत्यका सहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार (आज) फागु पूर्णिमामा मनाइँदै छ। उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाचगान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ।
किम्बदन्तीका अनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नाम एक क्रुर राक्षस थिए। उनी नास्तिक भएका कारण भगवानमा विश्वास गर्दैनथे। उनको प्रह्लाद नामक छोरा थिए। छोरा भने भगवान् विष्णुको परम भक्त थिए।
हिरण्यकश्यपु आफूलाई बलवान ठान्दथे। तर, उनको पुत्र बुवा हिरण्यकश्यपु आराधना नगरी विष्णु भगवानको आराधना गर्दथे। त्यो कुरा हिरण्यकश्यपुले सहन सकेनन्। जसकारण आफ्नै पुत्रलाई मार्न तयार भए।

अन्ततः हिरण्यकश्यपुले आफ्ना पुत्र प्रह्लादलाई अग्निकुण्डमा राखेर मार्ने योजना बनाए। अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा राखेर अग्नि कुण्डमा बसाए। तर, अग्नि बस्दा पनि विष्णु भगवानको प्रार्थना गरेर बसेका प्रह्लादलाई अग्निले भस्म गरेन। उल्टै होलीका भने भस्म भइन्।


अन्तमा हिरण्यकश्यपुलाई भगवान् विष्णुले नृसिंह अवतार लिएर मारेका थिए। होलिका दहनकै खुसीयाली मनाउन आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउने परम्परा परापूर्वक कालदेखि चलिआएको धार्मिक मान्यता छ। बिहीबार पहाड तथा हिमाली क्षेत्रमा मनाइने फागु पूर्णिमा शुक्रबार तराई मधेशमा होलीको रुपमा मनाइँदै छ।
प्रतिक्रिया दिनुहोस् !