जनकपुरधाम । नेकपा एमालेको सातौ अधिवेशनबाट धनुषा जिल्ला अध्यक्षमा राजकिसोर यादव पुनःसर्वसम्मतिबाट निर्वाचित भएका छन् ।
एमालेका केन्द्रीय सचिव रघुवीर महासेठका समूहले समर्पण गरेपछि सभापतिमा तीन दिन देखि चलेको विवाद टुंगिएकोछ । महासेठ समूहले यादवलाई अध्यक्षमा रोक्ने प्रयास गरेका थिए । तर केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको आशीर्वाद प्राप्त गरेका यादवले बाजी मारेका हुन् ।
महासेठ लगायत रामचन्द्र मण्डल पनि यादवलाई अध्यक्ष हुन नदिन भरमग्दूर प्रयास गरेका थिए । स्रोतका अनुसार जनकपुरधाम उपमहानगरपालिकामा एमालेको दुई समूहले नै कमिटी गठन गरेका थिए । अध्यक्ष यादव समूहले युवा नेता शुभनारायण मण्डललाई अध्यक्ष बनाएका थिए । महासेठ समूहले भने अर्का युवा सुरेन्द्र भण्डारीलाई अध्यक्ष बनाए । जिल्ला अध्यक्षका लागि यादव र महासेठ समूहबीच भएको सहमति अनुसार मण्डल नेतृत्वको उपमहानगर समितिलाई खारेजगरी भण्डारी नेतृत्वको समूहलाई वैधता दिने भएकोछ । जिल्ला अध्यक्षका लागि यादवले उपमहानगरमा मण्डलको काँधमा राखेर चलाएको बन्दूकको गोलीले लक्ष्य भेदन गरेकोछ ।

कमिटीको उपाध्यक्षमा भोला यादव, सचिवमा तेजनारायण यादव, सहसचिव द्वयमा श्याम पूर्बे र तारा लामा रहेको जिल्ला सदस्य रामकृष्ण यादव (सचिन) ले जनाएका छन् । हाल कोषाध्यक्ष राखिएको छैन् । १ सय ३५ सदस्यीय जिल्ला कमिटीमा बहुमत महासेठ समूहको रहेको छ । जिल्ला कमिटी अध्यक्षमा मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो लगायतले दावी गरेका थिए । महासेठले उपसभापति ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएर आफ्ना पक्षधरलाई अध्यक्ष बनाउने प्रयास गरे पनि त्यो सफल हुन सकेन् । अध्यक्ष ओलीले नै आशीर्वाद दिएकाले यादव अडान छाडेनन् ।


मंगलवार नै नेतृत्व चयन हुने भनिएकोमा सहमति जुट्न सकेको थिएन् । सहमति जुटाउन बुधवार पनि दिनभरि लागेको थियो । ओलीले यादवलाई नै सहमतिको अध्यक्ष बनाउन महासेठ लगायतका नेताहरुलाई निर्देशन दिएको बताइन्छ । मधेश प्रदेश एमालेमा पूर्व माओवादी समूह र एमाले समूहबीच चर्को द्वन्द छ । पूर्व माओवादी समूहको नेतृत्व गरिरहेका प्रभु साह लगायतलाई महासचिव शंकर पोखरेलले महासेठको विरोधमा साथ दिइरहेका छन् । जिल्ला अध्यक्ष बनेका यादव पनि सो समूह नजिक रहेका छन् । उपमहानगर कमिटीको अध्यक्षबाट मण्डललाई हटाउने प्रयास गरिए महासेठसित असन्तुष्ट रहेका ठूलो समूहले जिल्ला अध्यक्ष यादवको साथ छाड्न सक्ने संकेत देखिएको छ ।
धनुषा जिल्लामा एकलौटी नगर र जिल्ला कमिटी गठन गर्न लागेका महासेठको अभियानलाई जिल्ला अधिवेशनबाट ठूलो धक्का लागेको छ । उपमहानगर कमिटीलाई पनि महासेठ समूहले अब समायोजन गर्नुपर्ने बाध्यता भएको छ । पालिका चुनावलाई लक्षितगरी जम्बो कमिटी बनाइएको छ । कमिटीमा संख्यात्मक रुपमा महासेठ बलियो रहे पनि उनी विरुद्ध जिल्लामा अर्को समूह सक्रिय भएको छ । प्रभु साह लगायतका नेताहरुले महासेठलाई जिल्लामा नै कमजोर बनाएर प्रदेश ईञ्चार्जबाट हटाउन चाहेका छन् ।
एमालेमा महासेठ अत्यन्त विवादास्पद नेतामा गनिन्छन् । उपमहानगर अधिवेशनको बेला जिल्ला अध्यक्ष राजकिशोर यादवको विरोधमा रहेका सचिव तेजनारायण यादव पुनःसोही पदमा आसीन भएका छन् । पदाधिकारीमा पुरानै अनुहार दोहरिएको छ । जिल्ला सदस्यहरुमा केही नयाँ अनुहार पनि रहेको छ । स्थानीय तहको चुनावमा अब महासेठले रुचाएकै उम्मेदवार हुने संभावना कमजोर भएको छ ।
प्रतिक्रिया दिनुहोस् !