धनुषा- कांग्रेस, मधेस प्रदेशको सङ्गठन विभाग प्रमुखको जिम्मेवारी मधेश प्रदेशका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलाई दिइएको छ ।
कांग्रेस प्रदेश कार्यसमितिको उपसभापति समेत रहेका सिंहलाई कांग्रेस मधेस प्रदेश कार्यसमितिको बैठकले सिंहलाई सङ्गठन विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैठकले मधेस प्रदेश उपसभापति चन्द्रशेखर कुमार यादवलाई प्रदेश प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ । प्रदेश सभापति कृष्ण यादवको अध्यक्षतामा बसेको बैठकले कोषाध्यक्षमा प्रदीप यादवको नाम अनुमोदन गरेको छ ।

प्रदेश महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठले प्रस्ताव गरेको कार्य सम्पादन समिति र प्रदेश संसदीय समिति समेत गठन गरिएको छ ।
स्थानीय चुनाव नजिकिँदै जाँदा कांग्रेस मधेस प्रदेश समितिले पदाधिकारीहरूलाई जिम्मेवारी तोकेको हो ।


जनकपुरधाम स्थित कांग्रेस प्रदेश कार्यालयमा बसेको बैठकले प्रदेश कार्य सम्पादन समितिको समेत टुङ्गो लगाएको मुख्यसचिव सन्तुप्रसाद यादवद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
कार्य सम्पादन समितिमा प्रदेश सभापति यादव, उपसभापति द्वय सिंह र चन्द्रशेखर कुमार यादव, महामन्त्री द्वय उपेन्द्रकुमार यादव र वृहस्पतिकृष्ण श्रेष्ठ, सह-महामन्त्रीहरू जयनारायण प्रसाद यादव, परशुराम चौधरी, विन्दुकुमारी यादव र कोषाध्यक्ष प्रदीपकुमार यादव पदेन सदस्य रह्नु भएको छ।
सभापति यादवले ‘एकलौटी’ निणर्य गरेको भन्दै असन्तुष्टि
कांग्रेस मधेस प्रदेशका सभापति कृष्णा यादवले एकलौटी ढंगबाट कार्यसम्पादन र संसदीय समिति गठन गरेको भन्दै प्रदेश समितिका सदस्य जीवनाथ चौधरीले आपत्ति जनाउनुभएको छ। चौधरीले चुनावमा एकढिक्का भएर अगाडि बढ्नुपर्ने बेलामा सभापति यादवले एकलौटी निणर्यगरि नेता-कार्यकर्ताहरूमा असन्तुष्टि बढाउने काम गरेको आरोप लगाउनुभयो ।
चौधरीले भन्नुभयो, ‘नेपाली कांग्रेस मधेस प्रदेशका सभापतिले एकलौटी रूपमा काम गर्न थाल्नु भएको छ। उम्मेदवार छनोट गर्न २० दिनभन्दा पनि कम समय बाँकी रहेको बेला सबै पक्षलाई समेटेर कार्यसम्पादन र संसदीय समिति गठन गर्नुपर्नेमा एकलौटी गरिएको छ।’
उनले सभापतिको एकलौटी निणर्यले नेता-कार्यकर्ताहरूमा चरम असन्तुष्टि देखिएको र सबै पक्ष र समूहलाई समेटेर समितिहरू गठन गर्न माग गर्नुभयो।
प्रतिक्रिया दिनुहोस् !