जनकपुरधाम- मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरि ‘गृह तथा सञ्चार’ राख्ने तयारी थालेको छ ।
मधेस प्रदेश सरकारको आन्तरिक मामिला तथा भरतप्रसाद साहले संघ सरकारसँग लड्दै अब मन्त्रालयको अधिकारको लागि मन्त्रालयको नाम परिवर्तनबाट सुरु गर्ने बताए ।
बिहीबार दलित महिला केन्द्र नेपालले महोत्तरीको बर्दिबासमा आयोजना गरेको महिला तथा किशोरीहरूका निम्ति सुरक्षित समाज निर्माणका लागि सरोकारवालाको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले भने, ‘तत्काल मन्त्रालयको नाम फेर्ने तयारीमा थिएँ, तर स्थानीय तह निर्वाचनको आचारसंहिताले तत्काल नाम फेर्ने काम रोकिएको छ।’

उनले प्रदेशका नागरिकले अधिकार प्राप्तिका लागि पहिले प्रदेश सरकार अधिकारसम्पन्न हुनुपर्ने बताउँदै त्यसैको तयारी स्वरुप पहिले मन्त्रालयको नाम फेर्ने र अधिकार सुनिश्चित गर्ने बताए । मन्त्री साहले स्थानीय निर्वाचन पश्चात बस्ने मन्त्रीपरिषदको बैठकले मन्त्रालयको नाम ‘गृह तथा सञ्चार’ राख्ने निणर्य गरिने बताए।


उनले भने, ‘मन्त्रालयको नाम आन्तरिक मामिला हुँदा प्रदेशको शान्तिसुरक्षाको जिम्मेवारीको अधिकारलाई अलमल बनाएका छ। त्यसैले मन्त्रालयको नाम फेरेर प्रदेशले आफ्नो अधिकारको उपयोग गर्ने तयारी अन्तर्गत त्यस्तो गर्न लागेको हो ।
मन्त्री साहको कथन थियो, ‘प्रदेशबासीलाई सामाजिक, राजनीतिक, आर्थिक अधिकार दिलाउन र विभेद र हिंसा अन्त्य गराउन पहिला मन्त्रालय कै अधिकार सुनिश्चित हुनुपर्द छ।’
उनले मधेसको शान्ति सुरक्षामा प्रहरी समायोजन गर्न संघले आलटाल गरिरहेकोले अब विद्रोह स्वरुप मन्त्रालयको नाम फेर्ने र प्रदेशमा प्रहरी भर्नाको प्रकृया अगाडि बढाउने बताए । उनले भने, ‘संघले प्रहरी व्यवस्थापनमा सघाएन भने मधेसका प्रहरी चौकीहरु खाली गराउने छौ। स्थानीय चुनावपछिसम्म संघले प्रहरी समायोजन नगरे हामी अध्यादेश नै ल्याएर भर्ना खोल्ने तयारीमा पुगेका छौं।’
मन्त्री साहले महिला अधिकारका लागि वर्तमान प्रदेश सरकार र आफू प्रतिबद्ध रहेको बताउँदै उनले भने, ‘अब हुने स्थानीय तह र त्यसपछिका अन्य निर्वाचनमा महिला प्रतिनिधित्व र सहभागिता निकै बढ्नेछ ।’
कार्यक्रममा सुरक्षा विज्ञ, सामाजिक अभियान्ता र महिला अधिकार क्षेत्रमा कार्यरत संघ-संस्थाका प्रतिनिधिले महिला सुरक्षामा देखिएका समस्या र जटिलताबारे प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस् !