जनकपुरधाम- सप्तरीमा दलित समुदायको एक युवकलाई स्वतन्त्र उम्मेदवार उठाउन सहयोग गरेको निहुँमा हत्या गरिएको छ।
सप्तरीको खडक नगरपालिका-४ बस्ने २५ वर्षीय सन्तलाल पासवानको हत्या गरिएको हो । स्थानीय निर्वाचनको लागि सोहि ठाउँ बस्ने महादेव पासवानलाई वडा अध्यक्षमा स्वतन्त्रबाट बन्न सघाएको भन्दै सन्तलाल माथि राती आक्रमण गरिएको थियो ।
आक्रमणबाट गम्भिर घाइते सन्तलालको उपचारको क्रममा विराटनगर स्थित नोबेल अस्पतालमा गएराति मृत्यु भएको हो । स्थानीयका अनुसार रडको आक्रमणबाट सन्तलालको टाउकोमा गम्भीर चोट लागेको थियो ।

उनको मृत्युपछि आक्रोशित स्थानीयले घटनाको छानबिन गरी दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै आज पूर्वपश्चिम राजमार्गमा अवरुद्ध पारी प्रदर्शन गरेका थिए ।


स्वतन्त्र उम्मेदवारी दिएका दलित युवक महादेव पासवानले सन्तलालको हत्यामा निवर्तमान वडाध्यक्ष गंगाराम चौधरीका छोरा विवेक चौधरी, शिक्षक दिलिप चौधरी, सुशान्त चौधरी, नरसिंह चौधरी लगायतका व्यक्तिको संलग्नता रहेको आरोप लगाएको छ।
पीडित परिवारजनले पनि घटनामा निवर्तमान वडाध्यक्ष गंगारामको हात रहेकोले आरोप लगाएका छन् । गंगाराम नेकपा एसबाट वडाध्यक्षको उम्मेदवार छन् ।
दलित बाहुल्यता रहेको खडक नगरपालिकाको ४ नम्बर वडामा दलित उम्मेदवारलाई खडा गर्नु पर्ने दलित समुदायको माग रहेको थियो।
दलित अगुवा राजदेव रामले यस वडामा वडामा ७/८ सय दलित मतदाता रहेकोले दलित समुदायबाट नै उम्मेदवार बनाउनु पर्ने आफूहरुको माग रहेको बताउँदै उनले भने, ‘हामीहरूकै बाहुल्यता रहेको वडामा कुनै पार्टीले पनि दलितबाट उम्मेदवार नबनाएको भन्दै हामी असन्तुष्ट थियौं ।’
तर स्वतन्त्र उम्मेदवार खडा गरिएको निहँुमा हाम्रो एक होनाहार युवाको हत्या गरिएको राजदेवले बताए । उनले भने, ‘उम्मेदवार खडा गरेकै निहुँमा सन्तलाललाई चौधरी समुदायका व्यक्तिहरूले धाकधम्की दिएका थिए । र उनीमाथि आक्रमण गरि हत्या भएको छ । यो अक्षम्य अपराध हो । प्रशासनले सुक्ष्म अनुसन्धान गरी दोषमाथि कडा कारबाही गर्नुपर्छ ।’
त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका दलित युवक महादेवले उम्मेदवारी दिएर घर फर्केको राति टोलमा तीन ठाउँमा जन्ती आएको र डिजे बाजाको विषयमा झगडा भएको थियो । सन्तलाललाई कुटपिट गरेकै राति आफू माथि पनि आक्रमणको प्रयास गरिएको बताए । उनले केहि व्यक्तिहरु आफ्नो घरमा आएको तर बुबाले कराउन थालेपछि मान्छेहरु जम्मा भएकोहुँदा ज्यान जोगिएको बताए।
महादेवले उम्मेदवारी फिर्ता लिन अहिले पनि ठूला पार्टीका नेताहले दबाब दिइरहेको बताए ।
यता इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर बालिस्टर सिंहले गाउँमा जन्तीमा डिजे बाजाको विषयमा विवाद भएर सन्तलाल माथि कुटपिट भएको र उपचारको क्रममा मृत्यु भएको बताए ।
इन्सपेक्टर सिंहले स्वतन्त्र उम्मेदवार खडा गरेकै निहुँमा सन्तलालमाथि कुटपिट भएको भन्ने आफूलाई जानकारी नभएको र उजुरीमा समेत त्यो विषय उल्लेख नगरिएको जनाए ।
सन्तलालको दुई वर्षअघि मात्र बिहे भएको थियो । उनको एक वर्षकी छोरी, श्रीमती र आमाबुबा छन् । उनको शव अहिले विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस् !